काठमाडौं। आसन्न निर्वाचनमा देशका विकट तथा दुर्गम क्षेत्रहरूमा मतपेटिका ढुवानी र संकलनका लागि निर्वाचन आयोगले विशेष कार्ययोजना तयार गरेको छ। आयोगका अनुसार, भौगोलिक रूपमा कठिन मानिने हिमाली र पहाडी जिल्लाहरूमा मतदान सामग्री, कर्मचारी तथा सुरक्षाकर्मीलाई समयमा पुर्याउन र मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ल्याउन हेलिकप्टर प्रयोग गरिनेछ।
निर्वाचन आयोगले जनाएको छ कि मतदान अघि नै हुम्ला र डोल्पाका २७ अति दुर्गम स्थानमा हेलिकप्टरमार्फत मतपत्र, कर्मचारी र सुरक्षाकर्मी पठाइसकिएको छ। यीमध्ये डोल्पाका २३ र हुम्लाका ४ मतदान केन्द्र रहेका छन्।
मतदान सम्पन्न भएपछि पनि देशका १५ जिल्लाका ६१ दुर्गम स्थानबाट मतपेटिका संकलन हेलिकप्टरमार्फतै गरिने आयोगले जनाएको छ। ताप्लेजुङदेखि दार्चुलासम्मका यी स्थान बाहेक अन्य सुगम र सडक पहुँच भएका क्षेत्रहरूमा मतपेटिका संकलन सामान्य सवारी साधनमार्फत हुने व्यवस्था गरिएको छ।
निर्वाचन आयोगले मतपेटिका ढुवानीको प्रक्रिया व्यवस्थित र सुरक्षित बनाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक बजेट उपलब्ध गराइसकेको छ। आयोगका एक अधिकारीका अनुसार, “सडक मार्ग वा अन्य सवारी साधन प्रयोग हुने स्थानहरूमा पनि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सम्बन्धित सुरक्षा निकायको समन्वयमा मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्याइनेछ।”







