काठमाडौं  । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यही फागुन २१ गते हुने आमनिर्वाचनलाई लक्षित गर्दै मतदान प्रक्रिया, सुरक्षा संयन्त्र, वित्तीय सेवा र प्रशासनिक समन्वयका सबै पक्ष सुदृढ पारिएको आयोगले स्पष्ट पारेको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन आयोगले सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरेको जनाएको छ। उम्मेदवार तथा मतदातालाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाका सम्बन्धित शाखाहरू नियमित रूपमा सञ्चालन हुने व्यवस्था मिलाइएको छ। निर्वाचन अवधिमा आर्थिक कारोबारमा कुनै अवरोध नआओस् भन्ने हेतुले आवश्यक तयारी गरिएको आयोगको भनाइ छ।

सरकारले फागुन २१ गते हुने आमनिर्वाचनलाई मध्यनजर गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ। फागुपूर्णिमा तथा अन्य सार्वजनिक बिदाका कारण वित्तीय तथा प्रशासनिक सेवामा असर पर्न सक्ने अवस्थालाई ध्यानमा राखी आयोगको निर्णय र अनुरोधअनुसार महालेखा नियन्त्रक कार्यालय मार्फत राजस्व दाखिलाको विशेष प्रबन्ध मिलाइएको छ।

निर्वाचनसम्बन्धी भुक्तानी निकासा, राजस्व संकलन तथा अन्य आर्थिक कारोबारलाई निरन्तरता दिन कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सेवा सञ्चालन गरिएको आयोगले जनाएको छ। सो कार्यका लागि प्राविधिक जनशक्ति खटाई प्रणालीको निर्वाध सञ्चालन सुनिश्चित गरिएको उल्लेख गरिएको छ।

त्यसैगरी नेपाल राष्ट्र बैंक ले सरकारी कारोबार गर्ने एजेन्सी बैंकहरू तथा राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचारप्रसार सम्बन्धी बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थामार्फत रकम दाखिला, भुक्तानीलगायत वित्तीय सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको छ। निर्वाचन अवधिमा आवश्यक भुक्तानी प्रणाली अवरुद्ध नहोस् भन्ने उद्देश्यले प्राविधिक तयारी पूरा गरिएको जनाइएको छ।

यद्यपि, मुलुकभरका मतदाताले एकैपटक मतदान गर्ने दिन भएकाले मतदानको दिन वित्तीय तथा बैंकिङ सेवा सञ्चालन नहुने आयोगले जनाएको छ। सो सेवा फागुन २२ गतेदेखि यथावत् सञ्चालन हुने जानकारी दिइएको छ। निर्वाचन प्रक्रियालाई प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन सम्बन्धित सबै निकायबीच समन्वयात्मक ढंगले काम भइरहेको आयोगको दाबी छ।