काठमाडौं। हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन आयोग नेपालले अपेक्षाभन्दा निकै कम खर्चमा निर्वाचन सम्पन्न गरेको जनाएको छ। आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाउन लागेको प्रतिवेदनअनुसार निर्वाचन व्यवस्थापनमा करिब ३ अर्ब ५४ करोड रुपैयाँ मात्रै खर्च भएको उल्लेख छ।
सरकारले आयोगलाई निर्वाचनका लागि कुल ६ अर्ब ७६ करोड रुपैयाँ निकासा गरेको भए पनि त्यसको करिब आधा रकममै निर्वाचन सम्पन्न भएको हो। अर्थ मन्त्रालय बाट प्राप्त बजेटको पूर्ण उपयोग नगरी खर्चलाई नियन्त्रणमा राखिएको आयोगले जनाएको छ।
प्रतिवेदनमा अघिल्ला निर्वाचनको तुलनामा यसपटक खर्च उल्लेखनीय रूपमा घटेको देखाइएको छ। यसको प्रमुख कारणका रूपमा किफायती वितरण प्रणाली, डिजिटल तथा स्मार्ट प्रचारप्रसारको प्रयोग, र स्रोत साधनको प्रभावकारी व्यवस्थापनलाई लिइएको छ। साथै, सवारी साधन भारत सरकारबाट सहयोगस्वरूप प्राप्त भएकाले यातायात खर्चमा समेत उल्लेख्य कटौती भएको जनाइएको छ।
यसपटक केवल प्रतिनिधि सभा निर्वाचन मात्र सम्पन्न भएकाले पनि समग्र खर्च कम देखिएको हो। यसअघि २०७९ सालमा सम्पन्न प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा करिब ६ अर्ब ५५ करोड ६९ लाख रुपैयाँ खर्च भएको थियो, जबकि त्यतिबेला ८ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।
यद्यपि, निर्वाचनसँग सम्बन्धित सम्पूर्ण खर्चको यकिन विवरण अझै आउन बाँकी छ। विशेषगरी गृह मन्त्रालय मार्फत हुने सुरक्षा व्यवस्थापनको खर्च ठूलो हुने भएकाले कुल निर्वाचन लागत अझै बढ्ने अनुमान गरिएको छ। निर्वाचन सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन, उपकरण व्यवस्थापन र अन्य सुरक्षासम्बन्धी कार्यमा ठूलो रकम खर्च हुने गरेको छ।







