काठमाडौं। प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारणसभा आगामी वैशाख ९ गते आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको चैत १७ गते बसेको बैठकले काठमाडौंको तिनकुनेस्थित “प्रभु कम्प्लेक्स” मा बिहान ११ बजे सभा बोलाउने निर्णय गरेको हो।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरिनुका साथै गत आर्थिक वर्षसम्मको वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह, इक्विटीमा आएको परिवर्तन लगायतका सम्पूर्ण वित्तीय प्रतिवेदनहरू पारित गरिने कार्यसूची रहेको छ।
कम्पनीले सञ्चालक समितिबाट प्रस्ताव भए अनुसार आर्थिक वर्ष २०८१/०८२ सम्मको बितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको ८.७० प्रतिशतले हुन आउने १४ करोड ७९ लाख ८३ हजार १६५ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने र बोनश शेयर बितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्नेछ।
यसका साथै, कम्पनीले प्रस्ताव गरेको बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.४५७९ प्रतिशतका दरले करिब ७७ लाख ८८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिनेछ।
साथै, कम्पनी ऐन २०६३ अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने कार्यसूची पनि तय गरिएको छ। आवश्यक परेमा नियामक निकायबाट आउने निर्देशनअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभामा लैजाने कम्पनीले जनाएको छ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत २६ गते बुक क्लोज गर्ने भएको छ। सो मितिभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडमा कारोबार भई शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा समयमै नामसारी भएका शेयरधनीहरूले मात्र सभामा सहभागी हुन पाउनेछन्।







