काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज नेप्सेले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २९ गते साधारणसभा गर्ने भएको हो।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । नेप्सेले आर्थिक्व वर्ष २०८१/८२ को लागि ८५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ । सरकारले स्वीकृति दिएपछि र साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण हुने छ।

हाल नेप्सेको चुक्ता पुंजी १ अर्ब रहेको छ भने नेप्सेले ८५ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्ता छन् नेप्सेको साधारणसभामा पेश हुने प्रस्तावहरु :

१) सञ्चालक समितिको तर्फबाट अध्यक्षले ४४औं वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।

२) आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण, नाफा नोक्सान तथा अन्य आयको विवरण, इक्विटिमा भएको परिवर्तन सम्बन्धी विवरण, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूची उपर छलफल गरी पारित गर्ने ।

३) आर्थिक वर्ष २०८२/८३ को लागि महालेखा परीक्षकको कार्यालयबाट परामर्श प्राप्त हुने लेखापरीक्षकलाई नेप्सेको लेखापरीक्षकमा नियुक्ति गर्ने तथा निजको पारिश्रमिक र सेवा, शर्त तोक्ने ।

४) सञ्चालक समितिले प्रस्ताव गरे अनुरूप नेप्सेको चुक्ता पुँजी रु एक अर्बको ८५ प्रतिशतका दरले हुन आउने रकम रु.८५,००,००,०००/- (पचासी करोड रुपैयाँ) नगद लाभांश (नियमानुसार लाग्ने कर सहित) वितरण गर्न स्वीकृति प्रदान गर्ने।

५) विविध