काठमाडौँ। आगामी सोमबारदेखि बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूको नियमित कामकाज बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने भएको छ।
मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार गृह मन्त्रालयले सो व्यवस्था राजपत्रमा प्रकाशित गर्दै कार्यान्वयनका लागि सूचना जारी गरेको हो। सो सूचनामा शैक्षिक संस्थाबाहेक अन्य सरकारी कार्यालय र सार्वजनिक निकायमा शनिबार र आइतबार साप्ताहिक बिदा रहने उल्लेख गरिएको छ। साथै, चैत २३ गतेदेखि लागू हुने गरी कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म निर्धारण गरिएको छ।
त्यसैगरी, हिउँद यामलाई ध्यानमा राख्दै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गरिने व्यवस्था पनि गरिएको छ।
नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरूलाई सर्कुलर जारी गर्दै यही चैत २३ गतेदेखि नयाँ समय तालिका लागू गर्न निर्देशन दिएको छ। साथै, शनिबार र आइतबार सार्वजनिक बिदा कायम गर्नसमेत आग्रह गरिएको छ।








