काठमाडौं। नेपाल राष्ट्र बैंकका दुई जना निर्देशकहरूलाई कार्यकारी निर्देशक पदमा पदोन्नति गरिएको छ। पदोन्नति पाउनेमा हिम प्रसाद न्यौपाने र मुक्तिनाथ सापकोटा रहेका छन्।
मानव संसाधन व्यवस्थापन विभागले सूचना जारी गर्दै प्रशासन सेवातर्फ खाली रहेका दुई कार्यकारी निर्देशक पद पूर्ति गर्न उनीहरूलाई बढुवा गरिएको जनाएको छ। यो निर्णय कर्मचारी सेवा विनियमावली, २०६८ (संशोधनसहित)मा उल्लेखित प्रावधानअनुसार गरिएको हो, जसअनुसार योग्य निर्देशकहरूमध्येबाट छनोट गरी पदोन्नति गरिएको हो।
हालै कार्यकारी निर्देशकमा पुगेका न्यौपाने र सापकोटा अब आगामी डेपुटी गभर्नर पदका सम्भावित प्रतिस्पर्धीको रूपमा समेत हेरिएका छन्। केही दिनअघि मात्रै सरकारले कार्यकारी निर्देशक किरण पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो भने अर्को एक पद अझै रिक्त अवस्थामा रहेको छ।
केन्द्रीय बैंकमा दुई जना डेपुटी गभर्नर रहने व्यवस्था रहेकोले हाल रिक्त रहेको उक्त पदका लागि नयाँ नियुक्ति प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।







