काठमाडौं। नेपाल राष्ट्र बैंकले आज आफ्नो ७१ औँ वार्षिकोत्सव मनाउँदै छ । यस अवसरमा केन्द्रीय बैंकले देशको समग्र आर्थिक हित संरक्षण र वित्तीय प्रणालीलाई थप मजबुत बनाउने प्रतिबद्धता पुनः व्यक्त गरेको छ ।

यसैबीच गभर्नर विश्वनाथ पौडेलले शुभकामना सन्देश जारी गर्दै समष्टिगत आर्थिक स्थायित्वमार्फत दिगो आर्थिक विकासतर्फ केन्द्रित भएर काम गर्ने अठोट व्यक्त गरेका छन्।

उनले सुरक्षित, प्रभावकारी र विश्वसनीय भुक्तानी प्रणाली विकासका लागि मौद्रिक नीति तथा विदेशी विनिमय व्यवस्थापनलाई प्राथमिकतामा राखिने बताएका छन् ।

यसैगरी, सर्वसाधारणसम्म वित्तीय सेवाको पहुँच विस्तार गर्दै बैंकिङ प्रणालीप्रति विश्वास अभिवृद्धि गर्ने दिशामा राष्ट्र बैंक निरन्तर क्रियाशील रहने पनि उनले बताए।

वि.सं. २०१३ साल वैशाख १४ गते स्थापना भएको राष्ट्र बैंक नेपाल राष्ट्र बैंक ऐन २०१२ अन्तर्गत स्थापना भएको हो र हाल नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गत सञ्चालनमा छ।