आगो नियन्त्रणका लागि परम्परागत रूपमा पानी, कार्बनडाइअक्साइड ग्यास वा विभिन्न रासायनिक पदार्थ प्रयोग हुँदै आएको छ। तर अब ध्वनिको प्रयोग गरेर आगो निभाउने नयाँ प्रविधि विकास भएको दाबी गरिएको छ।
अमेरिकाको Sonic Fire Tech ले यस्तो प्रविधि तयार पारेको बताएको हो, जसमा पानी वा केमिकलको सट्टा ध्वनि तरंग प्रयोग गरिन्छ।
यो प्रविधि इन्फ्रासाउन्डमा आधारित छ, अर्थात् मानव कानले नसुन्ने न्यून आवृत्तिको ध्वनि प्रयोग गरेर आगो नियन्त्रण गरिन्छ। उक्त कम्पनीका संस्थापक जिओफ ब्रुडर नासासँग सम्बन्धित थर्मल ऊर्जा रूपान्तरण अनुसन्धानमा संलग्न एयरोस्पेस इन्जिनियर हुन्।
वैज्ञानिक दृष्टिले आगो बलिरहन ताप, इन्धन र अक्सिजन आवश्यक पर्छ। यीमध्ये कुनै एक तत्व हटेमा दहन प्रक्रिया रोकिन्छ। नयाँ प्रविधिले ध्वनि तरंगमार्फत अक्सिजनलाई इन्धनबाट अलग गर्ने काम गर्छ, जसले गर्दा आगो निभ्न सहयोग पुग्छ।
कम्पनीका अनुसार इन्फ्रासाउन्डले अक्सिजनका अणुहरूलाई तीव्र कम्पन गराएर दहनका लागि आवश्यक रासायनिक प्रक्रिया अवरुद्ध गर्छ।
ध्वनिको प्रयोग गरेर आगो नियन्त्रण गर्ने अवधारणा नयाँ भने होइन। यसअघि पनि DARPA लगायत संस्थाहरूले यस विषयमा अनुसन्धान गरिसकेका छन्।
तर यस्तो प्रविधि ठूलो स्तरमा प्रयोग गर्दा हानिकारक ध्वनि नउत्पन्न हुने सुनिश्चित गर्नुपर्ने चुनौती रहेको वैज्ञानिकहरू बताउँछन्। कम्पनीले भने कम फ्रिक्वेन्सी (२० हर्जभन्दा कम) को ध्वनि प्रयोग गरेर यो समस्या समाधान गरेको दाबी गरेको छ।
हालका लागि यो प्रविधि सानो स्तरका आगो नियन्त्रणमा मात्र प्रभावकारी देखिएको छ। भविष्यमा वनडढेलो जस्ता ठूला आगलागी नियन्त्रणमा प्रयोग गर्न थप परीक्षण र अनुसन्धान आवश्यक रहने बताइएको छ।







