काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत बढेको छ। समिक्षा अवधिमा नाफा बढाउन सफल कम्पनीले चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।
उक्त फिगर गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.५४ प्रतिशत धेरै हो भने गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ४६ करोड ४३ लाख रुपैयाँ मात्रै थियो।
खुद बीमाशुल्क र आम्दानी बढेसँगै कम्पनीको खुद नाफा उल्लेख्य बढ्दा समीक्षा अवधिमा कम्पनीको कुल आर्जित बीमाशुल्क १२३.९६ प्रतिशत बढेको वित्तीय विवरणमा छर्लङ्गै देखिन्छ । यता कम्पनीको आम्दानी ९०.५८ प्रतिशत बढ्दा कुल दाबी भुक्तानी ९४.६१ प्रतिशत र कुल खर्च ८८.८१ प्रतिशत बढेको अवस्था छ ।
हाल हिमालयन री इन्स्योरेन्सको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ ।







