काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आज आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा बोल्दै मरासिनीले यस्तो बताएका हुन् ।

मरासिनीले भने, ‘पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै गएकोले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिन्छ, हामीले ६ प्रतिशतको मात्रै लक्ष्य राखेका छौं, त्योभन्दा पनि बढी हाँसिल गर्ने गरि काम गर्न सकिने स्थिति बनिरहेको छ।’ उनले अहिले अर्थतन्त्र सही मार्गमा अघि बढेको र आर्थिक गतिविधि बढ्ने स्थिति बनिसकेको बताए।

अर्थसचिव मरासिनीले भने, ‘यो भाष्यलाई परिवर्तन गर्नुपर्छ, अर्थतन्त्र कन्फिडेन्सले पनि चल्ने हो। मुहार हेरेर पनि कारोबार गर्नु पर्ने अवस्था आउन सक्छ । बैंकर साथीहरूले पनि यो विषयमा मनन गर्नुपर्छ।’

यस्तै, उनले पछिल्ल्लो समय बैंकका लिलामीका सूचना देख्दा दुःख लाग्ने गरेको अनुभव सुनाए। यो समस्याको समाधानका लागि सबैको सहकार्यमार्फत् अगाडि बढ्न्ु पर्ने उनको भनाइ छ। यस्तै, उनले प्रतिव्यक्ति आयको हिसाबमा एसियामा नेपाल केही पछाडि भएपनि वित्तीय स्थिरता तथा आधारभूत सूचकहरूमा अन्य देशको तुलनामा अगाडि नै रहेको धारणा राखे।