काठमाडौँ। नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सोमवार पदभार ग्रहण गरेका छन्।
सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज पदभार ग्रहणका क्रममा मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि प्रणालीको सुरक्षित र प्रभावकारी प्रयोगका लागि मन्त्रालय सम्बद्ध निकायको कानुनी र संस्थागत पुनः संरचना गर्ने निर्णय गरेका छन्।
मन्त्री गुरुङले आफ्नो मन्त्रालय मातहतका कर्मचारीलाई प्रतिफल आउने गरी क्रियाशील हुन निर्देशन दिएका छन् । “नेतृत्व तहबाट गर्ने सहयोगका लागि म सधैँ तपाईँहरूको साथमा छु । मन्त्रालयले प्रदान गर्ने सेवाको प्रभावकारिताका लागि कानुनी र संस्थागत सुधार गर्न यहाँहरूबाट भरपुर सहयोगको अपेक्षा गरेको छु, सोहीअनुसार आआफ्नो जिम्मेवारी निर्वाह गर्नुहोला”, गुरुङले भने
यस अगाडि गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्रीको रूपमा २०७४ फागुन ४ गतेदेखि २०७८ जेठ २८ गतेसम्म काम गरिसकेका गुरुङ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव समेत हुन । विज्ञान विषयमा स्नातक गरेका मन्त्री गुरुङले पञ्चायत कालमै २०३४ सालदेखि राजनीति सुरु गरेका थिए ।







