काठमाडौँ । बागमती प्रदेशले (आज) मंगलबार नयाँ मुख्यमन्त्री पाउँदै छ । मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिंह लामा नियुक्त हुन लागेका हुन् ।

लामाले आज मुख्यमन्त्रीमा दाबी पेश गर्ने र प्रदेश प्रमुखले पनि आजै नियुक्त गर्ने तयारी छ । कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिने गरी दुई दलबिच सहमति भएसँगै मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अगाडि बढेको हो ।

दुई दलबिच मन्त्रालय भागबन्डामामा सहमति जुटेपछि लामाले आज दाबी पेश गर्ने भएको छ ।  बिहान ११ बजे कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

शालिकराम जम्कट्टेलले पदबाट आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही दिन आजसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए । सोही आह्वान अनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने र प्रदेश प्रमुख शर्माले आजै साँझ लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ ।

१३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिने भएको छ । कांग्रेसले मुख्यमन्त्रीसँगै यसअघि माओवादीले सम्हालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयसहित संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालय लिएको छ।

त्यस्तै एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिएको छ । कृषिबाहेक अन्य मन्त्रालय यसअघि जम्कट्टेल सरकारमा एमालेले नै लिएको थियो ।

दुवै दलले आज मन्त्रीहरूको नाम टुङ्गो लगाएर भोलि बुधवार मुख्यमन्त्रीसहित १३ मन्त्रीहरूको एकै पटक शपथ गराउने गरी गृहकार्य भइरहेको नेताहरूले बताएका छन् ।