काठमाडौँ । सुनचाँदी व्यवसायीले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर भारतले सुन आयातमा बढाएको सुनको भन्सार महशुल बारेमा ध्यानाकर्षण गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले भन्सार दर समायोजन गर्नलाई आग्रह गरेका हुन्।
महासंघका कार्यवाहक अध्यक्ष दियेशरत्न शाक्यको नेतृत्वमा बुधवार गएको प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटी भारत सरकारले बजेटमार्फत भन्सार दर घटाएपछि नेपालमा परेको प्रभावका विषयमा जानकारी गराउँदै नेपालमा पनि सोही अनुरूप हुने गरी भन्सार दर समायोजन गर्न आग्रह गरेको जनाएको छ ।
भारतले हालै आफ्नो बजेटमार्फत सुनचाँदीमा लाग्दै आएको भन्सार दर १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको छ । नेपालमा भने सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सार दर ५ प्रतिशतले वृद्धि गरी २० प्रतिशत पुर्याएको छ । साथै महासंघले अर्थमन्त्रीलाई खुल्ला सीमाका कारण दुई देश बिचको भन्सार दर बिच असन्तुलनले अवैध कारोबारले प्रोत्साहन पाउनेबारेमा पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ।
व्यवसायीले नेपालमा हाल कायम रहेको भन्सार दर घटाई भारतीय बजारसँग नजिक हुने गरी मूल्य मिलान गर्न आवश्यक रहेको पनि बताएका छन्। व्यवसायीसँगको भेटमा अर्थमन्त्री पौडेलले मागलाई गम्भीर रूपमा लिएको बताए। साथै उनले यसबारे अध्ययनपश्चात्नि उचित निर्णय लिने बताए ।व्यवसायीहरूले भने सुनको आयतमा कोटा वृद्धि गर्नुपर्ने, वर्षभरि हुने आयातलाई सिलिङ मानेर बजारको माग र आवश्यकताका आधारमा एउटा महिनाको सुन वर्षभरिमा जुनसुकै महिना पनि ल्याउन पाउनुपर्ने माग राखेका थिए ।
महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले १ खर्ब रुपैयाँभन्दा बढी लगानी भएको यो क्षेत्रलाई राज्यले गम्भीर रूपमा लिनुपर्ने बताए । सुनचाँदीको गरगहना आयातमा भएको व्यवस्थालाई प्रभावकारी बनाइनुपर्ने, चाँदी आयातको सीमा वृद्धि गरिनुपर्ने लगायतमा माग उनीहरूको छ ।







