काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत एक सयभन्दा बढी प्रहरी अधिकारीहरू एकैसाथ अवकाशमा जाने भएका छन् ।  आगामी भदौ १५ गते उनीहरू सबैले एकसाथ बर्दी फुकाल्ने भएका छन् ।

अवकाशमा दिनेहरूमा नेपाल प्रहरीका ९० र सशस्त्र प्रहरीका १८ जना गरेर १०८ जना रहेका छन् । १६ भदौ २०५१ मा प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना भएका ब्याचका १०८ प्रहरी अधिकारीहरू आउँदो १५ भदौमा अनिवार्य अवकाशमा जान लागेका हुन् ।

उनीहरू सबै जना भने ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदै छन् । १६ भदौ २०५१ मा ४३२ जना असईमा भर्ना भएका थिए । जसमध्ये १५ जनाको सशस्त्र द्वन्द्वमा मृत्यु भएको थियो । बाँकी केहीले भने यसअघि नै अवकाश वा राजीनामा दिएका कारण यो समूहका १०८ जना मात्रै सेवामा थिए । तीमध्ये नेपाल प्रहरीमा रहेका ९० जना र सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएर गएका १८ जनाको एकसाथ अवकाश हुन लागेको हो ।

उनीहरूलाई १०५ टोली भनेर पनि चिनिन्छ । असईमा भर्ना भएका उनीहरूले पछि प्रहरी निरीक्षकमा नाम निकालेर डिआइजीसम्म बन्न सफल भएका थिए । काठमाडौँ, भरतपुर र विराटनगरमा तालिम गरेका सो टोलीमा ४३२ जना थिए । माओवादी सशस्त्र युद्धमा यो टोली भिडेको थियो । जसमा १५ जनाले ज्यान गुमाएका थिए ।

उनीहरू अहिले प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि प्रहरी नायव महानिरीक्षक (डिआइजी) सम्म छन् । नेपाल प्रहरीतर्फ बागमती प्रदेशका डिआइजी विष्णुकुमार केसी, ११ एसएसपीहरू (दिनेशराज मैनाली, बेलबहादुर पाण्डे, रवि पौडेल, जीवन श्रेष्ठ, किसन सिंह थापा, रेवती ढकाल, चन्द्रदेव राई, नवीन राई, दिल्लीराज विष्ट, रवीन्द्र रेग्मी र वीरबहादुर ओली) अवकाशमा जाँदै छन् ।

त्यसै गरी प्रहरी उपरीक्षक (एसपी) हरू कृष्ण प्रसाईँ, अवदेश विष्ट, हिराबहादुर पाण्डेसहित डीएसपी र इन्सपेक्टरहरु अवकाशमा जाँदै छन् । सशस्त्र प्रहरी बलमा डिआइजीहरू दुर्गा भट्टराई, अभि खत्री र दुर्गा भट्टराई पनि अनिवार्य अवकाशमा जाँदै छन् ।