काठमाडौं। नेपाल प्रहरी १ अर्ब ३६ करोड रुपैयाँ बढी क्रिप्टो कारोबारको जालोसम्म पुगेको छ। सुरुमा १५ लाख ३० हजार रुपैयाँसहित पक्राउ परेका व्यक्तिबाट अनुसन्धान सुरु गरेको प्रहरी प्रशासन उक्त सञ्जालसम्म पुगेको हो ।
अनुसन्धानका क्रममा १ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको तथ्य फेला परेको हो। घटना के थियो भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत चैत ६ गते नेपालगञ्ज उपमहानगरपालिका–२० निवासी ३१ वर्षीय नरेश रेउलेलाई सामाखुसीबाट नियन्त्रणमा लिएको थियो।
क्रिप्टो कारोबारमा संलग्न रहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक बयानमा रेउलेले क्रिप्टो कारोबार गर्न चाहने व्यक्तिहरूबीच सम्पर्क गराइदिने र त्यसबापत कमिसन लिने गरेको स्वीकारेका थिए ।
उनको बयानकै आधारमा प्रहरीले ललितपुर महानगरपालिका–२५ नख्खु बस्ने ३२ वर्षीया दिप्ती पोखरेलसम्म अनुसन्धान पुर्यायो।
अनुसन्धानका क्रममा रेउलेमार्फत दिप्तीको सम्पर्क भारत पश्चिम बंगाल मेदिनीपुर क्षेत्रका ४१ वर्षीय प्रवेश अली उर्फ एसके, बसिर इकबालसँग भएको खुलेको छ । दिप्ती १० हजार अमेरिकी डलर साट्न इकबालसँग गएको जानकारी पनि प्रहरीले प्राप्त गर्यो ।
त्यसपछि प्रहरीले दिप्तीलाई सामाखुसी क्षेत्रबाट १५ लाख ३० हजार रुपैयाँ नगदसहित पक्राउ गर्यो । सोधपुछकै क्रममा इकबाललाई ललितपुरको एकान्तकुनाबाट नियन्त्रणमा लिइएको थियो।
इकबाल पक्राउ परेपछि क्रिप्टो कारोबारको व्यापक सञ्जालबारे थप तथ्य खुल्दै गयो। प्रहरीका अनुसार उनले ‘बिनान्स’ नामक क्रिप्टो ट्रेडिङ प्लेटफर्ममार्फत अमेरिकी डलरमा कारोबार गर्दै आएका थिए।
उनको खाताको विवरण हेर्दा १ अर्ब ३६ करोड ८० लाखभन्दा बढी रकमको कारोबार भइसकेको देखिएको छ। करिब तीन दशकदेखि नेपालमै बसोबास गर्दै आएका इकबालले सामाखुसीमा ‘अली बाबा सर्भिसेस’ नामक कम्पनी सञ्चालन गर्दै आएका थिए।
सोही कम्पनीमा कार्यरत दिप्तीलाई समेत उनले क्रिप्टो कारोबारमा संलग्न गराएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। प्रहरीका अनुसार पक्राउ परेका तीनै जना मिलेर अवैध क्रिप्टो कारोबार सञ्चालन गर्दै आएका थिए।
यद्यपि बयानका क्रममा उनीहरूले एकअर्कामाथि आरोप लगाउने प्रयास गरे पनि संयुक्त संलग्नता देखिएको दाबी गरिएको छ। यस घटनामा अनिल घिमिरे नामका अर्का व्यक्ति पनि जोडिएको प्रहरीले जनाएको छ, जसको पहिचान र ठेगाना अझै खुलेको छैन।







