काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबिच सङ्घीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार तथा व्यवस्थापन गर्ने विषयमा सहकार्य गर्ने सम्झौता भएको छ ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.मदन उपाध्याय र आविष्कार केन्द्रकातर्फबाट अध्यक्ष डा महावीर पुनबिच त्यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सो अवसरमा स्वास्थ्य मन्त्री पौडेलले राज्यमा उपलब्ध सीमित स्रोत साधनकाबीच स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई चुस्त र व्यवस्थित तुल्याउनुपर्ने भएकाले केन्द्रसँग सहकार्य गर्न लागिएको बताएका हुन।

“हामीले साधन स्रोत बढाएर तत्काल आवश्यकता अनुसारका उपकरण खरिद गर्न सक्ने अवस्था छैन, त्यसकारण अहिले हामीसँग भएका उपकरणलाई बढीभन्दा बढी प्रयोगमा ल्याउने सन्दर्भमा गरिएको सम्झौता महत्त्वपूर्ण प्रयास रहेको छ ।” मन्त्री पौडेलले भने मुलुकको प्रसिद्ध र स्थापित संस्था तथा विश्वास आर्जन गरिरहेको नेतृत्वलाई मन्त्रालयको महत्त्वपूर्ण कामको जिम्मेवारी दिन पाएकामा खुशी व्यक्त गर्दै मन्त्री पौडेलले सहकार्यको संस्कारले स्वदेशी संस्था र जनशक्तिलाई राज्यले विश्वास गरेको देखिने बताएका छन् ।

अस्पतालमा प्रयोग हुन नसकेर थन्किएका उपकरणलाई प्रयोगमा ल्याउन सकिएमा नयाँ खरिद गर्न लाग्ने ठुलो खर्च जोगिने उल्लेख गर्दै मन्त्री पौडेलले थोरै खर्चमा त्यस्ता सामग्री मर्मत र व्यवस्थापन गर्ने कामको थालनी भएको बताएका छन्। “मर्मत र अरू ढङ्गले उपयोगमा ल्याउन नसकिने सामाग्री अस्पतालमा छन्, प्रयोगमा आउने र नआउने छुट्टाएर सोही अनुरूप व्यवस्थापन गर्न जरुरी छ । त्यो काम गर्दा अस्पताल सफा हुने र कम खर्चमा उपकरण प्राप्त हुने भएका कारण आविष्कार केन्द्रसँग सहकार्य गर्न लागिएको हो”उनले भने

उक्त कार्यक्रमको अवसरमा आविष्कार केन्द्रका अध्यक्ष पुनले स्वास्थ्य क्षेत्र सुधारका सन्दर्भमा आविष्कार केन्द्रले अर्को महत्त्वपूर्ण जिम्मेवारी पाएको बताएका छन् । “यो जिम्मेवारी भनेको सङ्घीय सरकारअन्तर्गत रहेका अस्पतालमा बिरामीको स्वास्थ्य परीक्षण गर्ने बायोमेडिकल उपकरण मर्मत गर्ने तथा ती उपकरणको अवस्था के–कस्तो छ भनी यकिन गर्ने हो ।”अध्यक्ष पुनले भने,

ती अस्पतालमा रहेका उपकरण के–कति प्रयोगमा आउन सक्ने र कुन अवस्थामा छन् भनी यकिन गर्ने तथा बनाउन सकिने र नसकिने पहिचान गर्ने कार्य केन्द्रले गर्नेछ । मर्मत गर्न सकिने भए बनाउने र नसकिने भए सोही अनुसारको राय सुझाव आविष्कार केन्द्रले मन्त्रालयलाई दिनेछ ।

“स्वास्थ्य मन्त्रालयले आविष्कार केन्द्रलाई ठुलो जिम्मेवारी दिएको छ । हामीले पाएको जिम्मेवारी नागरिकको स्वास्थ्यसँग सम्बन्धित छ । उपकरणलाई ठिक अवस्थामा राख्न सकिए धेरैको ज्यान बचाउन सकिन्छ । लाखौँ नागरिकले यसको सेवा लिन सक्छन् । त्यसैले यो सानोतिनो जिम्मेवारी होइन ।” अध्यक्ष पुनले आफ्नो भनाइमा उल्लेख गरेका छन् ।

केन्द्रले क्षमताले भ्याएसम्म इमानदारीपूर्वक कुनै छलछाम नगरीकन राष्ट्र र जनताको सेवा गर्ने प्रतिबद्धता जनाउँदै अध्यक्ष पुनले नौलो र बृहत् क्षेत्र भए पनि विगतका अनुभवले काम पुरा गर्ने विश्वास व्यक्त गरेका छन्।

सम्झौताअनुसार आविष्कार केन्द्रका प्रतिनिधि सबै अस्पतालमा गएर त्यहाँ प्रयोग नभएका र सूचीकृत भएका सामानको पहिचान गरी सोही अनुरूपको प्रतिवेदन दिनेछन् । आफै बनाउन के कति मूल्य र पार्टपुर्जा चाहिन्छ त्यसको अभिलेख तयार गरिने छ । यस्ता काम आगामी दिनमा केन्द्रमार्फत नै अगाडि बढ्ने भएकाले उपकरण व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग पुग्ने मन्त्रालयले जनाएको छ ।

सम्झौता पत्र कार्यान्वयन भएसँगै करोडौँ मूल्य पर्ने तर सामान्य मर्मत नगरिँदा स्वास्थ्य क्षेत्रमा प्रयोगमा नआएका उपकरण प्रयोगमा आउने, सामान्य मर्मतपछि ती उपकरण सञ्चालनमा आउँदा नयाँ खरिद गर्नु नपर्ने तथा स्वदेशी जनशक्ति, स्रोत र साधन प्रयोग हुने मन्त्रालयको विश्वास छ ।