काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई बिदामा बहिरङ्ग सेवा खोल्न ध्यानाकर्षण गराउँदै पत्राचार गरेको छ । सार्वजनिक बिदाका दिन सरकारी अस्पतालले सेवा दिनुपर्ने भन्दै बहिरङ्ग सेवा खोल्न ध्यानाकर्षण गराइएको हो।

भदौ ७ गते पठाए भनिएको पत्र हालै सार्वजनिक भएकोमा प्रधानमन्त्री कार्यालयले २०८१ सालमा दिइने सार्वजनिक बिदाका विषयमा २०८० पुस १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको र त्यससम्बन्धी जानकारी नेपाल राजपत्रको खण्ड ७३ सङ्ख्या ५४ भाग ५ को सूचनामा स्पष्टसँग सार्वजनिक बिदाको दिन पनि सार्वजनिक स्वास्थ्य सेवा सञ्चालन हुने व्यवस्था उल्लेख गरिएको छ ।

सरकारी अस्पतालहरूले सेवा रोकेको जनगुनासो बढेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो। उक्त राजपत्रमा स्वास्थ्यलाई आकस्मिक सेवा मानेर अरू दिन जस्तै गरी बिदाको दिनमा पनि पूर्ण रूपमा बहिरङ्ग सेवा सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।

अस्पतालहरूले सार्वजनिक बिदाका दिन खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सट्टा बिदा दिनुपर्ने उल्लेख गरिएको छ । कतिपय सरकारी अस्पतालले सार्वजनिक बिदाको दिन बहिरङ्ग सेवा बन्द गर्दै आएका छन्। सरकारी स्वास्थ्य संस्थामा बहिरङ्ग सेवा बन्द हुन थालेको भन्दै प्रधानमन्त्री कार्यालयले बहिरङ्ग सेवा अनिवार्य सञ्चालन गराउन ध्यानाकर्षण गराएको हो।