काठमाडौँ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ लेखर्कमा भदौ ९ गते बिहान गएको पहिरोमा परेर बेपत्ता एक युवतीको शव तीन दिन पश्चात आज फेला परेको छ।
पहिरोमा बेपत्ता तीन जनामध्ये बुधवार बिहान एक युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ। योसँगै पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्ने क्रममा पहिरोले पुरेको अवस्थामा २३ वर्षीया बिन्दा पहरीको शव फेला परेको हो। पहिरोमा परेर मृत्यु भएको अवस्थामा ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आमुस श्रेष्ठ, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सञ्जीव पहरी, ११ वर्षीय सन्तोष पहरी र ११ वर्षकै विज्ञान पहरीको शव सोही दिन भेटिएको थियो।
सोमबार ७५ वर्षीय पुड्की पहरीको शव फेला परेको थियो। पहिरोमा अझै दुई जना बेपत्ता छन्।








