काठमाडौँ । हालसम्म बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४४ पुगेको छ । १९ जना अझै बेपत्ता रहेका छन् भने एक सय ७९ जना घाइते अवस्थामा उपचारार्थ रहेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

असोज ११ गते शुक्रवार र त्यसपछिका अन्य दिनमा आएको अविरल वर्षा सहितको बाढीको कारण जनजीवन अस्तव्यस्त बनेको हो । गृह मन्त्रालयका अनुसार बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको सकुशल उद्धार गरिएको छ।

सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ। हालसम्म त्यस्तो सहायता एक सय ६० परिवारले पाइसकेका छन्। साथै पूर्वानुमान महाशाखाले थप केही दिन वर्षाको सम्भावना रहेको कारण जटिलतामुक्त नभएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तो २ दिनको मौषम पूर्वानुमान 

२०८१ असोज २१ गते सोमबार

देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोसी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा राति मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०८१ असोज २२ गते मङ्गलवार

उक्त दिन देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै, सोही दिन राति भने कोसी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टामा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना देखिएको छ । बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।