काठमाडौं । बडादसैंको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् ।
विमानस्थल कार्यालयको तथ्यांक अनुसार दसैंको फुलपाती देखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ एक लाख ६० हजार नौ सय १० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार पाँच सय १२ जनाले हवाई यात्रा गरेका हुन् ।
विमानस्थलका अनुसार दसैंको सात दिन अर्थात् असोज २४ गते फुलपातीदेखि पूर्णिमाको अघिल्लो दिन (असोज ३० गते) सम्म आन्तरिकतर्फ दुई हजार एक सय ५९ र अन्तर्राष्ट्रियतर्फ सात सय ८१ गरी कुल दुई हजार नौ सय ४० उडान भएका छन् । यो दुईतर्फी उडानको संख्या हो ।
दसैंको दुुई दिन अर्थात् असोज २४ गते फूलपाती र असोज २६ गते महाअष्टमी महानवमी मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका थिए ।
असोज १३ गतेदेखि असोज २८ गतेसम्म कुल चार लाख २७ हजार नौ सय ४६ जनाले हवाई यात्रा गरेको विमानस्थलले जनाएको छ । यसमा आन्तरिकतर्फ दुई लाख २३ हजार आठ सय ४७ र अन्तर्राष्ट्रियतर्फ दुई लाख ४० हजार ९९ यात्रुले आवत जावत गरेका छन् ।
यसैगरी असोज १३ गतेदेखि असोज २८ गतेसम्म आन्तरिकतर्फ पाँच हजार एक सय आठ र अन्तर्राष्ट्रियतर्फ एक हजार सात सय ४४ गरी कुल ६ हजार आठ सय ५२ उडान सञ्चालन भएको विमानस्थलको तथ्यांकमा उल्लेख छ ।
यसअघि असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए । ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाई यात्रा गरेका थिए ।
यही असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको चाप बढेको थियो । रासस







