काठमाण्डौ – हाल रातिको समयमा बन्द हुदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी चैत १९ गतेदेखि रातको समयमा समेत खुला हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटर नजिकको काम पूरा हुनै लागेपछि विमानस्थल राति १२ बजेसम्म खुला गरेर दैनिक १८ घण्टा सञ्चालन हुन लागेको जानकारी दिएको छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएको मुख्य जटिल काम सकिन लागेपछि विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म नियमित सञ्चालन गर्ने तयारीमा रहेको बताएका छन् ।
यसअघि राति १२ बजेदेखि ३ बजेसम्म उडान गर्दै आएका कतार एअरवेज, फ्लाई दुबई र नेपाल वायुसेवा निगमका उडान राति १२ बजे पहिले नै गराएर विमानस्थल दैनिक १८ घण्टा सञ्चालन गर्ने तयारी रहेको भुलको भनाई छ ।
धावनमार्गको क्षमता अभिवृद्धिका लागि काम शुरु गर्नुअघि विमानस्थल बिहान ६ बजेदेखि राति ३ बजेसम्म सञ्चालन हुँदै आएको थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानस्थलको धावनमार्गको बिच भागदेखि ७५ मिटरभित्रको काम गर्न उडान बन्द गर्नुपर्ने नियम अनुसार अहिले विमानस्थल बिहान ७ बजे खुलेर राति ११ बजे बन्द हुँदै आएको छ ।







