काठमाडौँ। मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको वित्तीय विवरण वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले प्रकाशन गरेको उक्त विवरण अनुसार कम्पनीको खुद नाफामा ४.४५ प्रतिशतले बढेको छ ।

कम्पनीले गत आवको चैत मसान्तसम्म १२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा वृद्धि भएर १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ। यता कम्पनी नाफासँगै खराब कर्जामा समेत वृद्धि भइरहेको छ । कम्पनीको खराब कर्जा गत वर्ष ७.६१ प्रतिशत रहेकोमा चालू आवमा बढेर खराब कर्जा ९.४९ प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा १७ करोड ५८ लाख रुपैयाँबाट बढेर १८ करोड ४६ लाख रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी पनि ६० करोड ९२ लाख रुपैयाँबाट बढेर ७३ करोड ८२ लाख रुपैयाँ पुगेको छ। साथै, चुक्ता पुँजी १ अर्ब ४१ करोड रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ७६ करोड रुपैयाँ सञ्चिति छ भने वितरणयोग्य नाफा १ करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानीमा भने गिरावट आएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५१ पैसाबाट घटेर १२ रुपैयाँ १५ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ९१ पैसा रहेको छ।