काठमाडौँ । साताको पहिलो कारोबारका दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । उक्त दिन बजार ३.७७ अंकले घटेर २६०८.०७ को विन्दुमा कायम भएको हो । आज ३०९ कम्पनीको १ करोड ६९ लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५० करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।
लामो समयदेखि केन्द्रीय बैंकमा गभर्नर नियुक्ति हुन सकेको छैन । केन्द्रीय बैंकले लिने मौद्रिक नीतिको पुँजी बजारमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले लगानीकर्ताले गभर्नर नियुक्ति प्रकरणलाई निकै गम्भीर रूपमा लिएको विज्ञहरूको भनाई छ ।
यसैगरी, सेयर बजारका लगानीकर्ताले आगामी बजेटलाई पनि कुरिरहेका छन् । बजेटमा समग्र अर्थतन्त्रले गति लिने विषयसँगै सेयर बजारसँग जोडिएका मुद्दाले कत्तिको प्राथमिकता पाउँछ भन्ने चासो रहेको देखिन्छ ।
बजेटमार्फत सुधारका लागि नीतिगत सम्बोधन हुन सक्यो भने त्यसले पनि लगानीकर्ताको मनोविज्ञान उकास्न छ । यतिबेला सेयर बजारका लगानीकर्ताको मनोविज्ञान सुधार्ने कार्यक्रम चाहिएको विश्लेषकहरू बताउँछन् ।
घटेको बजारमा समेत उक्त दिन सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ८० करोड ३७ लाख ५० हजार रुपैया बराबरको कारोबार भएको छ ।
त्यस्तै, कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको ५१ करोड ३६ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
आज राधी विद्युत कम्पनीको ४८ करोड ४२ लाख ७९ हजार रुपैंया, युनिभर्सल पावर कम्पनीको ४३ करोड ८१ लाख ५५ हजार रुपैयाँ कारोबार भएको हो ।








