काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईपीओ स्वीकृति सम्बन्धमा अनियमितताको आशंका गर्दै नेपाल धितोपत्र बोर्डका पदाधिकारीसँग बयान लिएको छ । आईपीओ निष्कासन स्वीकृति दिनुअघि कमिसन मागेको आरोप निजी ऊर्जा उत्पादकहरूले लगाएपछि अख्तियारले बोर्डका पदाधिकारीसँग बयान लिएको हो।

अख्तियारले मंगलबार बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसहित उच्चपदस्थ कर्मचारीसँग बयान लिएको हो । गत बुधबार आईपीओ निष्कासन सम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको अख्तियारले आज आयोगमै बोलाएरै सोधपुछ गरेको हो । यदि निजी ऊर्जा उत्पादकहरूले लगाएको आरोप प्रमाणित भए हदैसम्मको कारवाही हुने स्रोतले जनाएको छ।

आईपीओ स्वीकृतिका लागि पाँचदेखि सात प्रतिशतसम्म कमिसन मागेको सूचनापछि आयोगले छानबिन थालेको थियो । अहिले बोर्डले आईपीओका लागि अयोग्य भएका १४ कम्पनीको सूची पाइपलाइनबाट हटाएको छ । अझै आईपीओको पाइपलाइन सूचीमा ७५ कम्पनी छन् ।