काठमाडौँ । नेपालमा बजेट पहिलो पटक वि.सं. २००८ माघ २१ मा ल्याइएको थियो । त्यसबेला सरकारको नेतृत्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले गरिरहेका थिए । तत्कालीन अर्थमन्त्री सुवर्णशमशेरले प्रस्तुत गरेको उक्त बजेटलाई हिमालय शमशेर जबराले तयार पारेका थिए । त्यसबेला हिमालय शमशेर अर्थ सचिव थिए । उनी नेपालकै पहिलो अर्थ सचिव समेत हुन् ।
जबराले तयार गरेको बजेटको आकार ५ करोड २५ लाख रुपैयाँको थियो ।
बजेटको सुरुवातमा अरू मुलुकहरूमा वर्षेनि बजेट प्रस्तुत गर्नु साधारण कुरा भएपनि त्यसबेला नेपालका लागि यो अपूर्व कुरा भएको भनी उल्लेख गरिएको थियो ।
उक्त बजेटमा जम्मा ३ हजार ४ सय ८९ शब्द प्रयोग गरिएको थियो । बजेट अनुसार देशको अघिल्लो वर्षको अनुमानित कुल आम्दानी २ करोड ९० लाख ८१ हजार रुपैयाँ थियो । यस्तै देशको खर्च २ करोड ४६ लाख २७ हजार थियो । यो आँकडालाई हेर्दा त्यति बेला ४३ लाख ९४ हजार रुपैयाँ बचत भएको देखिन्छ ।
२००८ सालको ८ महिनामा तीन करोड पाँच लाख १६ हजार रुपैयाँ आर्जन गरिएको बजेटमा उल्लेख छ । अपेक्षित भन्सार संकलन हुन नसकेको भन्दै त्यसका लागि विभिन्न ५ कारण औल्याएको थियो । बजेटमा उल्लेख भए अनुसार त्यतिबेला कृषकलाई सहयोग गर्ने मनसायले एक रुपैयाँमा दुई आना मालपोत मिनाहा दिने घोषणा गरिएको थियो ।
त्यतिबेला राजदरबारका लागि ५ लाख ८४ हजार रुपैयाँ बजेट छुट्याइएको थियो । त्यस्तै, मन्त्री र नेपाल सरकार सचिवालयका लागि ३२ लाख ४० हजार बजेट विनियोजन गरिएको थियो ।
निजामती कर्मचारीको तलबका लागि २० लाख र सेनाका लागि २७ लाख १२ हजार रुपैयाँ विनियोजन गरिएको थियो । निर्वाचनका लागि ३ लाख २३ हजार रुपैयाँ राखिएको थियो । बजेटमा सामान्य खर्च ज्यादै बढेको बजेट भाषणमा भनिएको थियो । बजेटमा करको दर परिवर्तनको घोषणा नगरिकन ‘यसबारे सोचिरहेको’ उल्लेख गरिएको थियो ।
‘‘रेल ट्रली र रोपवेको वर्तमान भाडाबारे अध्ययन हुँदैछ र मनासिव देखिएमा तिनको दर बढाइनेछ । घरैपिच्छे पानी कर लगाउने समेत विचार गरिँदैछ । सवारी कर पनि बढाउने सोचिंदैछ‘।’ बजेट भाषणमा भनिएको थियो ।







