हाइकिङ भन्ने बित्तिकै तपाईँको दिमागमा झट्ट बन्ने आकृति के हो? दुवै हातमा पार्ट पार्ट छुट्ट्याउन सकिने स्टिलको लट्ठी, काँधमा अग्लोगरि खाँदिएको झोला, झोलाका आसपासका खल्तीमा पानीका बोतल र खुट्टामा अग्लो गोटीदार जुत्ता वा आफूलाई प्रिय लाग्ने मान्छेहरूको जमघट कतै टाढा नजिकको सफर र स्मरणीय भोगाई ?
आज एउटा यस्तै स्मरणीय यात्रा अनुभवको अनुभूति शेयर गरौँ । देशको संघीय राजधानी काठमाडौँदेखि बागलुङ, रुकुम र म्याग्दीसँग सिमानाको सम्बन्ध गाँसेर पलेटी कस्दै आन्तरिक तथा बाह्य पर्यटकको स्वागतार्थ मन फिँजाएर सधैँ मुस्कुराई रहने सुन्दर ढोरपाटन, बुकी पाटनसम्मको यात्राबारे ।
ढोरपाटन शब्दसँग मेरो गहिरो प्रेम छ । र ढोरपाटनको आफ्नै परिचय, इतिहास, भूगोल, राजनीतिसँगै सांस्कृतिक महत्त्व र विरासतको फेहरिस्त ढोरपाटनमा बग्ने उत्तरगंगा जस्तै लामो देखिन्छ। ढोरपाटनले म्याग्दी र बागलुङलाई काखमा च्यापेर रुकुमसँग साहिनो जोडेर सुन्दरताको वासना देशभित्र र बाहिरसम्म धाराप्रवाहको रूपमा छर्किरहेको छ। इतिहास पढ्दा होस वा त्यहाँका स्थानीय बुढापाकासँग भलाकुसारी गर्दा ढोरपाटनको अर्थ ‘ढोर’ भन्नाले समथर र ‘पाटन’ भन्नाले चरणको क्षेत्र मिलेर ढोरपाटन बनेको बुझ्न पाइन्छ ।
यद्यपि यसको ऐतिहासिक पक्ष र समुदायको इतिहाससँग जोडिएको विषय थप चर्चा गर्न र खोज अनुसन्धान गर्न आवश्यक छ भन्ने लाग्छ । म फेरि लयमा लैजान चाहन्छु । ३ हजार ४९ मिटरको उचाइमा पहाडै पहाडको काखमा चिटिक्क दुलहीझैँ सजिएको ढोरपाटनको सुन्दरताको बयानमा हजारौँ शब्द खर्चिए पनि अपुरो हुन्छ जस्तो लाग्छ । यही सुन्दरताको साक्षी बन्दै ढोरपाटनदेखि बुकी यात्रासम्मको अनुभूति आज शब्दको सहारामा व्यक्त गर्ने प्रयास गरिरहेको छु ।
यात्रा आरम्भ
ढोरपाटनको चर्चा गत वर्षको तुलनामा यो वर्ष तुलनात्मक रूपमा बढी नै थियो । छ। त्यहाँका सुन्दर बेनामी फूल र चरणक्षेत्र सहित सुन्दर बुकीफाटको दृश्यले जोकोहीलाई सहजै लोभ्याउनेमा दुई मत छैन । त्यस्तै भयो मलाई पनि । एक दिन कार्यकक्षमा आफ्नै सुरमा काम गरिरहेको थिए । यो यात्राको पहिलो साक्षी अग्रज क्रियाशील पत्रकार रामनारायण सुवेदी सरले सोही ढोरपाटन र बुकी क्षेत्र आसपासको तस्बिर सामाजिक सञ्जालमा पोस्टयाउनुभयो । लामो समय त्यही ठाउँलाई टेको लाएर पत्रकारिताको माध्यमबाट ढोरपाटनको विभिन्न पक्षलाई कलम र क्यामेरामा कैद गर्दै प्रचारप्रसार तथा खबरदारी गरेका सुवेदी सरको फोटोसँगै टाँसिएको ‘जामका ढोर बुकि’ मा मैले कमेन्ट गरे लौन सर यो ठाउँले निकै गिजाएको छ जाने मेसो गर्नुस्।
केही मिनेटमा प्यासेन्जरको इन्बक्समा एउटा रँगिन ब्यानर राम सरले फ्याट्ट पठाउनुभयो । मैले त्यसलाई राम्रोसँग हेर्न नभ्याउँदै फोन गरेर उनै सुवेदी सरले पदयात्राको तयारी भएको र विशेष कार्यक्रम समेत जोडिएको कारण जान आग्रह गर्नुभयो मैले उहाँले भनेकै आधारमा इनबक्सको ब्यानर नहेरेरै ओके भनिदिए किनकि मेरो मनमा त्यहाँ पुग्ने जो हतारो छदै थियो। यही यात्राको अर्को सारथि कमल रोका कोरिया छोडेर नेपाल आएको हप्ता दिन भएको थिएन । कमल कोरिया हुदाँपनि हाम्रो ढोरपाटन जाने सल्लाह भने भइरहन्थ्यो नै । मैले राम सरको फोन राख्न बित्तिकै कमललाई फोन गरे र भने क्यामरा, ड्रोन र आवश्यक तयारी गर्नु हामी केही दिनमा ढोरपाटन जाँदै छौ ।
असार मसान्तको चाप सकिएर फुर्सदिलो जस्तै देखिएको मलाई त्यही समय ब्याकपेन (ढाडको दुखाई) भएर हैरान भएको थियो । लामो समय कुर्चीमा बसिरहन निकै गाह्रो थियो। हिँड्न सकिने हो होइन थाहा थिएन तर राम सरको कुराले हौसला बढ्यो, दुखाई अलिक कम भएजस्तो भयो समग्रमा म हौसिए । ४ रात ३ दिनको यात्राको निमित्त म काठमाडौँबाट पोखराको लागि तयार बने साथी कमल बुर्तिबाङ नजिकै थियो । राम सरसँग अर्को दिन पोखरा भेट्ने सल्लाह मिल्यो म तीन बजेको उडान छोपेर पोखरा ओर्लिए ।
राति राम्रोसँग निद्रा परेन पटक पटक ढोरपाटन र बुकी पाटनको दृश्य आँखामा आइरहेको थियो । अर्को दिन भयो राम सर काठमाडौँबाट आउन समय लाग्यो मन चुलबुल भइरहेको थियो। लामो पर्खाइ पछि उहाँ पोखरामा भेटिनुभयो हामीले पोखराबाट बुर्तिबाङको निमित्त यात्रा तय गर्यौ । बाटोमा सोही रातिको बसमा नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष समेत रहेको दिल श्रीस दाइ पनि आउने कुरा उनै राम सरले सुनाउनुभयो । बुर्तिबाङमा केही पुराना साथीहरू, केही नातेदार र जनप्रतिनिधि साथीहरूसँग करिब करिब राति २ बजेसम्म बसाइ भयो । अर्को दिन गाउँबाट कमल झर्यो, केही साथीहरू त्यही भेटिए र लामो पर्खाइपछि हामी बुर्तिबाङ छोडेर ढोरपाटनका लागि यात्रा तय गर्यौ ।
बुर्तिबाङमा भेटिएका केही साथीहरूले त्यहाँको भौतिक अवस्थाबारे जानकारी दिए, केहीले लेक (हाइ) लाग्नबाट बच्न टिमुर र लसुन उपहार राखिदिए र केहीले ओढ्न सुत्न चाहिने आवश्यक सामाग्री दिए । अ साँच्चै सबैलाई धन्यवाद है । बुर्तिबाङबाट अधिकारिचौरसम्म नपुग्दासम्म बाटो परिचित भए पनि यात्रामा रहेका अन्य यात्रुहरू भने नयाँ नै लागिरहेको थियो । नौलो यात्रा, ठुलो टिम अपरिचितहरूसँग परिचित बन्दै हामी अधिकारिचौर पुगियो । त्यहाँ पुगेको केही बेरमा प्रशान्त घर्ती मगर सहित केही थान नयाँ साथीहरू जोडिनुभयो । प्रशान्त दाइसँग लामो समय एउटै शहरमा एक अर्काको आवाज र भावनासँग परिचित भएर काम गरेको भएर पनि होला मलाइ थप खुशी लाग्यो । दाइको बोली अहिले पनि उस्तै मिठो, पहिलेझैँ शीतल र कुराकानी गरिरहूँ लाग्ने प्रेमील ।
हामी त्यहाँबाट पनि पनि अगाडि बढ्यौ। दिनले बिदाइ माग्दै रातिलाई स्वागत गर्दै थियो । हामीबाट बिस्तारै ढल्किँदै गरेको दिनले आफू छुट्ने बेला सिमसिम पानी उपहारको रूपमा पठाएको थियो । बोबाङ हुँदै भेटिने विभिन्न गाउँ कट्दै गर्दा साँझ झपक्क पर्यो, प्रकृतिलाई ओट लागेर बाचिरहेको विभिन्न चराचुरुङ्गी र किराहरूको आवाज प्रस्ट कानसम्म ठोकिन आउँथ्यो । हामी अप्ठ्यारो र कष्टकर बाटोलाई पाखा लाउँदै सुन्दर ढोरपाटनमा पाइला टेक्यौ ।
म र मेरो स्कुले साथी कमलका लागि ढोरपाटन नयाँ भने थिएन हामी पहिलो पटक ६७ सालमा स्कुलबाट र दुई वर्ष अगाडि हाम्रै तयारीमा त्यहाँ पुगेका थियौ । तर त्यसपश्चात् पुग्नुपर्ने बुकी पाटन भने हामी दुवैको निमित्त नयाँ थियो । ढोरपाटन अब दूर रहेन, दुर्गम रहने बरु शहरझै स्मार्ट बन्यो , सुविधाले निर्पुण देखियो । ढोरपाटनको फाटलाई सिरानी बनाएर बसेको सामुदायिक होटलमा भेट भयो एक हुल अपरिचित अनुहारसँग ।
थकाई थियो । तर त्यो भन्दा ज्यादा उत्सुकता । राति अबेरसम्म निद्रा परेन । त्यसमाथि घरमा भाइलाई चोट लागेको खबर मध्यरात हुनै लाग्दा सुनियो । यसले मलाई थप चिन्ता थप गर्यो। त्यो रात यसो उसोमै बिहान भयो ढोरपाटनको मौसमले मनको हृदय खोलेर बिहानीको स्वागत गर्यो । चारैतिर सफा देखिएको बिहानीले मेरो तनाव, थकाई र अनिन्द्रा सबै दूर भयो । हामी बाहिर निस्कियौ । सुन्दर फाटको स्पर्श गर्यो आफ्नो खुशी प्रकृतिसँग साटफेर गर्यो । सबै सबै बिर्सेर प्रकृतिको भाषा महसुस गर्दै रमाउनु जत्तिको खास अर्को के हुन सक्थ्यो र ।
एक छिन अगाडि जताततै मुस्कान भरिएको ढोरपाटनको मौसममा बादलले इष्या गर्यो, क्षणभरमै लिछिप्प भिजाउनेगरी पानी बर्सियो तर खै किन त्यो पानीसँग पनि प्रेम मिसियो , उसले रुझायो र मनले त्यहाँको फाटझै छाती चौडा बनाएर वर्षाको स्पर्शको स्वागत सम्मान गर्यो । चौरभरि बुकीको भेडाजस्तै फिजारिएको हाम्रो हुललाई पानीले बथानमा फर्काउन सहयोग गर्यो । नयाँ देखिएका अनुहार बिस्तारै परिचित बन्दै थियो । एकको मुहार हेरेर अर्को मुस्कुराउने अवस्था बनिसकेको थियो ।
त्यसपश्चात् बल्ल एउटा फराकिलो माध्यम बन्यो जहाँ एकले अर्कालाई सहजै चिन्ने, पेशा व्यवसाय र पद सहित थाहा पाउने र त्यो काम गर्यो यही यात्राको योजनाकार नव स्थापित संस्था गिफ्ट ढोरपाटनले।
जलवायु परिवर्तन विरुद्ध विश्वव्यापी एकता भन्ने नाराका साथ वर्तमान विश्वको मुख्य समस्याका रूपमा खडा भएको जलवायु परिवर्तन सम्बन्धी जनचेतना फैलाउँदै हरित पहिचान जोगाउन स्थापित गिफ्ट ढोरपाटनको काम र उद्देश्य साँच्चिकै प्रशंसा गर्न लायक छ । जलवायु परिवर्तनको विषयले विश्वका सबै जीवात्मा तथा यससँग सम्बन्धित सबै आयामलाई प्रतिकूल प्रभाव पारिरहेका समयमा जलवायु परिवर्तनको कारण मानव जीवनका पर्यावरणलगायत सामाजिक, आर्थिक, शारीरिकलगायत अधिकांश क्षेत्र प्रभावित हुने अर्थमा अहिले जलवायु परिवर्तनका कारण विश्व अर्थतन्त्रमा पर्ने प्रतिकूल प्रभावका सम्बन्धमा विशेष जोड, छलफल तथा चिन्तन गर्दै स्थापित यस संस्था म र हाम्रो धन्यवादको पात्र हो भन्नेमा फरक मत छैन होला।
जलवायु परिवर्तनका असर र यसको प्रभावबारे म त्यति विधि जान्दिन तर पेशा व्यवसाय अनुसार बेलाबखत यस्ता छलफल, गोष्ठीमा सामेल हुने भएको कारण यत्ति थाहा छ कि नेपाली अर्थतन्त्रका कृषि, पूर्वाधार संरचना तथा श्रम उत्पादकत्व क्षेत्र प्रभावित हुँदै गर्दा कुनै पनि अर्थतन्त्रका प्रमुख क्षेत्र मानिने कृषि, पूर्वाधार संरचना र श्रम उत्पादकत्व अर्थतन्त्रका मूलभूत विषय हुन्। यी महत्त्वपूर्ण क्षेत्र प्रभावित हुनुले मुलुकको अर्थतन्त्र नराम्ररी प्रभावित हुने दिशातिर अग्रसर छ।
जलवायु परिवर्तनका कारण मौसममा आएको परिवर्तन स्वरूप बढ्दो तापमान, अनावृष्टि, अतिवृष्टि, बाढी पहिरो, नदी कटान, कृषि बालीको भौतिक क्षति आदिका कारण कृषि उत्पादनका क्षेत्रमा निकै नकारात्मक प्रभाव परिरहेको छ। यो समस्यालाई गहिरो गरी स्मरण गर्दै समाजमा सचेतना फैलाउँदै जलवायु परिवर्तनका असर कम गर्न अग्रसर यस प्रशंसनीय संस्थाले सामूहिक परिचय गराउँदै अपरिचित मुहारहरूलाई परिचित बनाउँदै भावनाको सूत्रमा एकताबद्ध रूपमा बाँध्ने काम गर्यो ।
ढोरपाटनको मौसम भर्खर प्रेम वियोग बेहोरेको प्रेमीको मन जस्तै थियो । छिनछिनमा सम्हालिने र उसैगरी एकै छिनमा बहकिने । हामी यही मौसमसँग सम्झौता गर्दै ढोरपाटनमा तीन दिन पश्चात् भेट्ने बाचा छोडेर बुकीको लागी यात्रा तय गर्यो । एकैछिनमा रोकिने वर्षा र उति नै बेला छेउमा हिँडिरहेको सहयात्री समेत नदेखिने गरी छोप्न आइपुग्ने कुहिरोले हाम्रो यात्रा अझै मज्जेदार बनाएको थियो ।
स्थानीयको निर्दोष र जिज्ञासु हेराई, फरक फरक शहरबाट एउटै केन्द्र बनाएर भेटिएका भिन्न भिन्न मान्छेहरू, चाक्ला फाटहरुमा वेग हानेर दौडिने त्यहाँका घोडा खच्चर , शहरको बास्ना बोकेर गएको चार पाङ्ग्रे, दुई पाङ्ग्रे मोटर यी सबै सबै कुराले ढोरपाटनबाट उकालो लागेको हामीले नयाँ नयाँ पल थप गर्न सहयोग गरेको थियो ।
टाढाको दुरीमा हाइकिङ गर्नु पछाडि निकै धेरै फाइदाहरू रहेछन्। जुन शारीरिक, मानसिक, सामाजिक र आत्मिक रूपमा व्यक्तिलाई समृद्ध बनाउन सहयोग गर्ने मैले अनुभूति गर्न पाए। शारीरिक रूपमा हाइकिङ जानुले शरीरमा कार्डियो भास्कुलर व्यायाम हुने र त्यसले मुटुलाई स्वस्थ राख्नुको साथै तौल घटाउन, मांसपेशी बलियो बनाउन र शरीरको लचिलोपन सुधार गर्न मद्दत गर्ने विषयमा केबल पढ्न पाएको थिए तर आफैले यो यात्रा गरेपछि यो विषय व्यवहारिक हो भन्नेमा मेरो अर्को कुनै मत हुन सक्दैन ।
प्रकृतिसँग नजिक हुँदा शारीरिक तनाव कम हुने र मानसिक शान्ति मिल्न गएको मैले आभास गर्न पाए । यसरी मोबाइल र इन्टरनेटबाट टाढा बसेर दिमागलाई विश्राम दिन पाउँदा मलाई थकाइको बिचमा पनि खुसीको महसुस भएको थियो । प्रकृतिसँग सम्बन्ध गाँस्दै टाढाको यात्रा गर्दा देखिएका पहाड, नदी, बन, जनावर साथै प्राकृतिक सुन्दरता र शान्त वातावरणले नयाँ प्रेरणा थपेको थियो ।
निकै समयपछि लामो दुरी पार गर्दा अनेक कठिनाइ त थिए नै तर बाटोमा भेटिएका अनेकौँ प्रजातिका रुख बिरुवा, खोला नाला प्राकृतिक सुन्दरता सबैले थकाइ, मौसम र बाटोको अप्ठ्यारो बिर्साएको थियो। अ…साँच्चै यसले मनको दुरी समेत नजिक बनाउनमा भूमिका खेल्ने रहेछ । एकै छिन अगाडि को हो झैँ बिरानो लाग्ने मान्छे एकैछिनमा आफ्नै हो जस्तै प्रिय लाग्ने ।
एकै छिन अगाडिसम्म अन्जान जस्तै हामी बिस्तारै एक अर्कामा सोधपुछ हुन थाल्यो, एक अर्काको नाम, ठेगाना पेशा लगायतका प्रश्न र उत्तरले हामीलाई बाटो काट्न सहज बनायो। हिँड्दै जाँदा बाटोमा भेटिने पुराना शैलीका गोठ,काठको पुल, गाई बस्तुको चरिचरण क्षेत्र आदीले मलाई बेलाबखत फेरि बच्चापनको याद ताजा बनाइदिएको थियो । कतै सुँस्तिदै , कतै लम्किँदै, कति सुस्केरा मार्दै कतै जिस्किँदै हामीले करिब करिब ६ घण्टाको बाटो पार गर्यौ। थकाइको बिचमा पनि बुकीको सुन्दर फाट र त्यहाँ फूले अनेकौँ रङ्गका फूल हेर्ने मेरो अदृष्ट सपनाको कारण रहरले थकाइलाई पराजय गरेको थियो।
जिस्किँदै जिस्काउँदै सहयात्रीहरूलाई उडाउँदै अन्ततः झमक्कै छिपिएको साँझमा उकाला बाटाहरूलाई पाखा लाउँदै हामीले समथर गर्पा छेडामा प्रवेश गयौ। आँखाका दृष्टि पुग्ने ठाउँसम्मै कोल्टे परेर फिजारिएको फाट, सिमसिमे पानीले लिछिप्पै भिजाएको जमिन कहिकतै रुखका बुटा नदेखिने समथर फाँटहरू र त्यही फाँटको छेउमै त्यहाँ पुग्ने पर्यटकलाई स्वागत गर्न सजिएको दुई थान गोठस्टे साँच्चिकै मैले आफैलाई भुले, थकाई बिर्सिए र समग्रमा दिमाग रित्तो भयो, ओठले अनायासै मुस्कान छोड्यो, शरीर फुरुङ्ग भयो।
गोठस्टे भित्र हाम्रो एक हुल हौसिँदै पस्यो, त्यो बिचमा हामीहरू बिचको अपरिचित दूरी सकिएर आत्मीय सम्बन्ध स्थापित भइसकेको थियो । हामीले टिमुरको स्वादमा अर्ग्यानिक ठाउँमा पनि बजारे स्वादको चाउचाउ खाजाको रूपमा लियौ र विश्राम गर्नतर्फ लाग्यौ ।
मलाई सम्झना छ सबै थकित थिए । सबैलाई काँधको झोला सुरक्षित गर्नु थियो र शरीरलाई आराम दिन मन थियो सबैले आ आफ्नो सुर गरिरहेका थिए तर संस्थागत जिम्मेवारी कति विशेष हुन्छ गिफ्ट ढोरपाटनका अध्यक्ष समेत रहेकी रमिता जी र प्रशान्त दाइ भने सबैको चासो लिई रहनुभएको थियो । थकाइको बिचमा पनि उहाँहरू दुवैको ओठमा मुस्कान हराएको थिएन । उहाँहरूको व्यवस्थापन र टिमको जिम्मेवारी बहन गरेको देख्दा संस्थाको प्रगति उत्तर गङ्गाको रफ्तारझैँ निरन्तर हुन्छ भन्नेमा म ढुक्क भए । धन्यवाद रमिता जी प्रशान्त दाइ र आबद्ध सम्पूर्ण टिम मायाको साटो माया नै उपहार है तपाईँहरूलाई ……….।
सबैले खाना खाने तयारी भयो ४१/४२ जनाको जम्बोटीम आसपासमा वैकल्पिक होटल थिएनन् सबैलाई व्यवस्थापन गर्न गाह्रो थियो। कसो कसो गरेर खानाको समय भयो कसैले खाइसके कसैले खादै थिए र कसैले खान बाकी थियो। त्यही समयमा बज्यो मनको धड्कन स्पर्श गर्नेगरि घुन्न घुन्न मादल र तिरीरि बाँसुरीको मधुर धुन। हामी थप रोमाञ्चित भयौ । हामीले सबै सबै भुलेर दोहोरीमा रमाउन थाल्यौ । बागलुङे होस वा रोल्पाली, डोल्पाली होस् वा म्याग्दीली वा तनहुँ नै सबैको मन एकै टोकरीमा जम्मा भयो हामीले एकै स्वरमा भन्न थाल्यौ । सिरमा रिबन सालको पछ्यौरी हिरा जस्तो सरर छ तिम्रो मुहार अब मैले बिर्सूँ कसरी…………….. ।
दुइटा गोठस्टेमा हामी दुई खेमामा विभाजन भयौ। भयौ भन्दा पनि ठाउँले त्यस्तो पार्यो । हामी बसेको भन्दा अर्को भागमा समेत उसै गरी गुन्जिएको थियो गलकोटमा बग्यो दरी म……..। हामी भएको तिर केही समय एकोहोरी चलेको भए पनि केही समय पश्चात् पत्रकार सर्जना कार्कीले उक्त एकोहोरीलाई दोहोरीमा परिणत गर्नुभयो माहौल झनै रमाइलो भयो। हामी हौसियौ मादल बजाउने दाइ झनै खिपेर बनाउन थाले । सबैको हातमा हात ठोकिएर मादलको तालमा सुर थप्ने काम भयो । हामीले स्वरमा स्वर मिसायौ र करिब करिब १ बजेसम्म माहौल रोमाञ्चित बनाएर त्यो रातको बिदाइ गर्यौ ।
यात्राको दोस्रो दिन
बिहानीको संकेत हाम्रो छेउमा निदाउनुभएको बुवाले गर्नुभयो ६ बज्न बाकी नै थियो तर बुवाको बानी हुँदो हो सायद बिस्तारा बाट मुख निकालेर तीन पटक हरिणझैँ ख्वाक्क ख्वाक्क सुख्खा खोकी खोक्नुभयो । मलाइ निद्राले छोड्यो उठेर बाहिरी दृश्य हेरे, अर्को गोठस्टेको साथीहरुपनि एकपछि अर्को गर्दै ब्यूझिए । बिहानीको दृश्य हेरिसकेपछि हामीले खाजामा अर्गानीक कोदोको जाउलो र बिहानी चिया पिएर गर्पाछेडालाई छोडेर यात्रा फुस्रे देउराली, टिका धारा र फागुनेको लागि तय गयौ ।
गर्पाछेडाबाट निस्किँदै गर्दा अचानक उडिरहेको ड्रोन खस्यो, त्यसले हामीलाई निराश बनायो तर यो अनुभूति लेख्दै गर्दा ढोरपाटन छोडे पश्चात् बुर्तिबाङ आसपास नै छुटेको साथी कमल त्यही बनाउने बहाना बोकेर फेरि मेरो निराशालाई चिर्न काठमाडौँ आएको छ यस मानेमा भने खुशी लागेको छ।
अघिल्लो दिनभन्दा दोस्रो दिन थकाई कम भएको थियो । जाँगरको परिमाण थपिएको थियो। अघिल्लो दिनसम्म पुरै अन्जान लागेको साथीहरू एउटै भकारोका बाच्छो, पाडोजस्तै आत्मीयता बढेको थियो। मैले दोस्रो दिन आफ्नो तरिका परिवर्तन गरे। मलाई बाटो काट्नेको हतारो भन्दा पनि आफ्नै गतिमा सुस्तिदै, प्रकृति नियाल्दै केही पटक सुस्केराहरू ओकल्दै अगाडि बढ्ने जाँगर बढेको थियो। यो तरिका सिकाउने यात्रामै भेटिएका विजय तामाङ सरप्रति आभारी छु है।
कसो कसो हो-हल्ला र रमाइलोमै हामी फुस्रे देउराली कटेर टिका धारा पुग्यौ हामीलाई डाँडासँग मितेरी गाँसेर बसेको कुहिरोले स्वागत गर्यो। हरियाली पाखामा हजारौँको सङ्ख्यामा भेटिएको भेडाको बथानले हामीलाई लोभ्यायो, सबैले जीवनको कुनै न कुनै कालखण्ड स्मरण गरियो । भेडाको हुलसँग तस्बिर खिचियो, टिकटक बन्यो र सबैभन्दा मिठो कुरा त थप आत्मीयता झाँगियो ।
टिका धारामा बसाई अन्य ठाउँमा भन्दा अलि बेसी नै भयो । राम सर, हेमेन्द्र सर, विजय सर, रमिता जी, रिना जी लगायतका साथीहरूको सामूहिक नृत्य साँच्चिकै रोमान्टिक थियो । म अहिले पनि साँझ बिहान हेर्ने गरेको छु हेमेन्द्र सरको कम्मर मर्काइ र राम सरको खुट्टा चलाई अलौकिक लागिरहेको छ, बिचबिचमा म एक्लै हाँस्दै रमाउँदै गरिरहेको छु। टिका धारामा रमाइलो मात्रै भएन केही खास पनि लाग्यो किनकि रुकुमबाट आएका एक हुल साथीहरू एकाएक मगर पोसाकमा तयार बन्नुभयो, प्रशान्त दाई र रमिता जी लगायतका साथीले होस्टेमा हैँसे गरे , सर्जना जी छिनभरमै साडीमा सजिनुभयो, रिना जी गुरुङ पोसाकमा विजुलीझै चम्किनुभयो आहा…कस्तो सुन्दर जातीय पहिचान, अनेकौँ रँगहरू घोलिएर एउटै रङ्गमा पोतिनु कति सुन्दर पक्ष रहेछ त्यो दृश्यले मलाई साँच्चिकै नतमस्तक बनायो ।
टिका धाराले हजारौँ भिडियो, लाखौँ फोटो र करोडौँ माया दिएर हामीलाई त्यहाँबाट बिदाइ गर्यो । फूलहरूको स्पर्श गर्दै हामीले टिका धाराबाट खुलेको मौसममा हातको पाली हाल्दै आँखा पुगुन्जेल फागुनेलाई नियाल्यौ र सोहीतर्फ फेरि उही उत्साह सहित यात्रा तय गर्यौ ।
हामी फूल चुँड्नुहुन्न भन्नेमा सजग थियौ । फोहोर गर्नुहुन्न भन्नेमा सबै जानकार थियौ । पलाष्टिक फ्याँक्ने त परकै कुरा थियो । समग्रमा हामीले फूलको रक्षा गयौ । वातावरण बिथोल्ने कुराबाट सजग बन्यौ । यात्रामा धेरैजसो चेतनशील र शिक्षित साथीहरू नै थियौ । हाम्रो जम्बोटीम फागुनेलाई पछि पार्दै बुकी पाटन पुग्यो। एउटा सत्य नलुकाएर भनौँ कि त्यहाँ पुग्न भने सहज पक्कै छैन । राम्रो कुराको मात्रै चर्चा गर्दै गर्दा त्यहाँको सुधार गर्नुपर्ने पक्ष लुकेर झन् ठुलो रूप धारण गर्ने अवस्थामा नपुगोस् भन्ने पक्षमा मेरो मत छ यो विषयमा अन्तिमतिर फेरि केही भन्ने छु ।
हाइकिङले शारीरिक, मानसिक मात्रै हैन नयाँ नयाँ सम्बन्धहरू स्थापित गर्नलाई पनि विशेष भूमिका खेल्ने रहेछ । व्यगं र उट्पट्याङ गर्न खुब रस लाग्ने मलाई त्यस्तै साथीहरू भेटिए । हसाउनलाइ पनि त हाँसिदिने कोही त चाहिन्छ । मैले सबै सबै त्यस्तै साथीहरू भेटे खुला मन भएको, ओठमा मुस्कान र मनमा सहयोगीपन भएको । यसो उसो गर्दागर्दै रातपर्यो दिनभर साथ दिएको मौसम राती भने रिसाएझैँ गरी पानी बर्सियो । लिछिप्पै रुझियो तर पनि आलश्यता भने लागेन ।
सम्मो फाँट लहरै लागेर बिछ्याएको टेन्ट टेन्टभित्र अघिल्लो दिनहरूमा जस्तै घन्किरहेको मादल र बाँसुरी ती सबै पल विशेष बन्दै गइरहेको थियो। पानीले बिदाइ दिने सुरसार गरेन हामीले टेन्टको साटो नजिकै रहेको गोठमा बास माग्ने निधो गयौ । जसोतसो गोठमा बास मिल्यो, बाससँगै आस जाग्यो । फेरि एक अपरिचित परिवारसँग हाम्रो साहिनो जोडियो। अगेनामा आगोको न्यानो लिँदै हामीले अपरिचित साहिनोलाई परिचित बनायौ ।
आफन्तको साहिनो जोड्यौ । नौ थर थरको दिदीले हामीलाई दूध मोही र दही खुवाउनुभयो, आत्मीयता देखाउनुभयो। गोजीमा भएको पैसा र जङ्गलमा भेटिएको पातपतिङ्गरको बराबर महत्त्व वा महत्त्व विहीन भएको ठाउँमा हामीले दिदीको सम्मानमा केही रकम खर्चियौ र अर्को दिनको बिहानीको पर्खाइमा सुनसान रातमा दोस्रो दिनको पनि समापन गर्यौ ।
तेस्रो दिन बिहान
रात सकियो बिहानी खुल्यो बिहानीसँगै त्यहाँको प्रकृति खुल्यो सायद कुहिरो मस्त निद्रामा थियो त्यसैले त चारैतिर आकाश सफा थियो । हिमाल मुसुक्क मुस्कुराएर स्वागत गर्यो । हामीले शहरमा फ्रिजमा राखेभन्दा चिसो प्राकृतिक पानीमा हातमुख सफा गर्यौ र फेरि उही हुलमा मिसिन आइपुग्यौ । एकाबिहानै भेडाको बथान, उनीहरूको लयात्मक म्या…भ्या….भ्या र चौरभरिको ताती कुनै बनावटी सुन्दर चित्रकला भन्दा कम थिएन।
अरूको भन्दा त्यो दिन हाम्रो केही फरक बन्यो, हाम्रो त्यो दिन बिहान बुकी भन्दा अझ उचाइमा रहेको जल्पा तालको सुन्दर दृश्य हेर्न जाने सल्लाह थियो । तर हामी नेटवर्कको सम्पर्कबाट बाहिरिएको पुरापुर २ दिन भएको थियो । यता मैले निर्धारण गरेको कार्यालयको छुट्टी सकिएको थियो । त्यसबाहेक केही जरुरी कामहरू खडा भएको कारण साथी कमल र मैले उक्त जल्पा ताल नजाने निर्णय गर्यौ। हामीबाट धेरै साथीहरू छुटिसक्नुभएको थियो बाकी रहेको विजय सर , संस्थाका अध्यक्ष समेत रहेकी रमिता जी, विजय सर, हेमन्त राई सर लगायतसँग बिदाइ मागेर हामी त्यहाँबाट बिदा लियौ । छुट्ने बेला रमिता जी मुसुक्क मुस्कुराउनुभयो र एक शब्द बोल्नुभयो शुभ यात्रा है सरहरू। हामीलाई त्यो प्रिय लाग्यो तर हतारमा छुट्नुपरेकाले अलि अलि नमज्जा पनि लाग्यो । छुट्नु भनेको फेरि भेटिनु हो भन्ने सम्झिँदै हामी त्यहाँबाट बिदा लियौ ।
हामी जाने बेला गर्पाछेडा हुँदै गएको भए पनि फर्कने बेला भने फागुने हुँदै आउनुपर्यो । बाटो नयाँ थियो । हामी एक हुलबाट हराएको बाच्छो जस्तै भयौ एक्ला एक्लै । बाटोमा सुख दुखका कुरा गर्दै करिब ५ घण्टाको निरन्तर हिँडाइ पश्चात् हामीले पुनः ढोरपाटनलाई स्पर्श गर्यौ । हामीलाई त्यही दिन ढोरपाटनबाट पनि निस्कनुपर्ने थियो । बिहानीको खाना करिब २ बजेतिर खाएर हामी बुर्तिबाङको लागि गाडी चढ्यौ । संयोग त्यस्तो जुर्यो कि गाडीमा स्याङ्जाका दुई दिदीबहिनी छाया र माया गुरुङ भेटिनुभयो । उहाँहरुपनि ढोरपाटनदेखि गर्पाछेडा पुगेर फर्किनुभएको रहेछ । निकै सरल, निकै सहज र मिलनसार हामी गाउँघर, सुखदुख साट्दै अन्ततः बुर्तिबाङ ओर्लियौ ।
यसरी हाम्रो ढोरपाटनदेखि बुकी यात्राको समापन भयो,यात्रा खास र स्मरणीय भयो यो यात्रामा भेटिएका छुटिएका सबैलाई अगाध प्रेम सहित सम्झना है हिँड्दै जाँदा बाटोले फेरि उसै गरी काहीँ न काहीँ भेट गराउने छ ।
अन्तमा: कुनै समय त्यस्तो थियो होला जहाँ बुर्तिबाङ बिना ढोरपाटन अधुरो देखिन्थ्यो होला तर समय फेरियो । सूचना र प्रविधिले आज ढोरपाटन र ढोरपाटनको सुन्दरता बिना बुर्तिबाङ र आसपासका पालिकाहरू अधुरो देखिने अवस्थामा छन् । ढोरपाटनकै कारण बुर्तिबाङका होटल व्यवसायी चम्किएका छन्। ढोरपाटन र बुकीमा चलचित्र बन्यो, कयौँ डकुमेन्ट्री बन्यो, दिनहुँ रिल्स र हजारौँ तस्बिर खिचियो तर यसको पर्यावरण र सुन्दरता जोगाइ राख्नमा न स्थानीयको ध्यान गएको देखिन्छ नत्र सरोकारवाला निकायकै ।
आज बुर्तिबाङबाट ढोरपाटन जाने बाटोको अवस्था देख्दा यस्तो लाग्छ कि ठाउँ ठाँउमा काल हाम्रो सिकार गर्न कुरेर बसेको छ । ढोरपाटनले धेरैलाई धेरैदियो तर फर्काउन र जोगाउन कसैले जानेनन् । आजको पुस्ताले समयमै पर्यावरण र यसको अस्तित्व बचाउनमा ध्यान दिएनन् भने हामीले वाउ देखेको ढोरपाटनको अस्तित्व चाँडै लोभ हुनेछ । राज्यले सधैँ उपेक्षामा पारेको सुन्दर ढोरपाटन पुग्दा हामी मान्छे हुनुको कर्तव्य नभूलौ फेरि एक पटक गिफ्ट ढोरपाटन र यो यात्रामा भेटिएका सबैप्रति साधुवाद धन्यवाद ।







