काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष तथा बरिष्ठ उद्यमी शेखर गोल्छाले अझै शसक्त ढंगले लगानी गर्ने घोषणा गरेका छन् । जेन जी पुस्ताले गरेको आन्दोलनका क्रममा भदौ २४ गते गोल्छाको निजी आवासमा पनि आक्रमण भएको थियो । गोल्छाको निवास परिसरमा रहेका आधा दर्जन जति सवारी साधनमा आगजनी भएको थियो । तर गोल्छाले आफु र आफ्नो परिवार तथा व्यवसायमाथि भएको आक्रमणबाट विचलित नभएको बरु अझै शसक्त ढंगले लगानी गर्दै रोजगारी सृजना गर्ने तर्फ दृढ संकल्पित रहेको बताएका छन् ।
उनले नयाँ पुस्ताको आन्दोलन मार्फत कल्पना गरेको नयाँ नेपालको सपना समेत पुरा होस भन्ने कामना पनि व्यक्त गरेका छन् ।
‘देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस् ।’ गोल्छाले फेसबुकमा लेखेका छन् ।
गोल्छाले सुनौलो बिहानीसँगै देशमा लोकतन्त्र थप सुदृढ होस भन्ने कामना पनि गरेका छन् । ‘केहि व्यवसायी माथि भएको वीभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो तर म र मेरो परिवार निरास वा विचलित भएको छैन । आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामना सहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहन्छु ।
अन्धकार पछिको उज्यालोले हामी सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न अझै बल मिलोस् अर्हं’ गोल्छाले फेसबुकमा लेखेका छन् ।







