काठमाडौं। हिमालयन रि इन्स्योरेन्स कम्पनीका अध्यक्ष शेखर गोल्छाले पदबाट राजिनामा दिएका छन्। उनले फागुन २५ गते कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदबाट औपचारिक रूपमा राजिनामा बुझाएका थिए।

कम्पनी सञ्चालक समितिको चैत ५ गते अपरान्ह ३ः३० बजे बसेको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो। यससँगै गोल्छा औपचारिक रूपमा अध्यक्ष पदबाट बाहिरिएका छन्।

यद्यपि, उनले राजिनामा दिनुको कारण भने कम्पनीले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छैन। यसले बजार तथा सरोकारवालामाझ विभिन्न अड्कलबाजीहरू सुरु भएको छ।

शेखर गोल्छा नेपालका चर्चित उद्योगीसमेत हुन् र बीमा तथा पुनर्बीमा क्षेत्रमा उनको नेतृत्वलाई महत्त्वपूर्ण मानिँदै आएको थियो। उनको बहिर्गमनले कम्पनीको भावी नेतृत्व र रणनीतिमा कस्तो प्रभाव पार्नेछ भन्ने चासो बढेको छ।