सरकारको लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले एक सबल संस्थानको पहिचान बनाएको छ । सरकारी लगानी पनि रहेको सबल संस्थाको सूचीमा साल्ट ट्रेडिङ पनि अग्र स्थानमा आउँछ । कम्पनीले आर्जन गरेको नाफा र आम्दानीले पनि यो कुराको पुष्टि गर्छ ।
त्यसैगरी, जगेडा कोषको आकार पनि कम्पनीको निकै राम्रो छ । प्रतिसेयर नेटवर्थ पनि उच्च छ । र, साथसाथै, दोस्रो बजारमा पनि कम्पनीको सेयर भाउ शीर्ष १० महँगो भित्र पर्छ ।
सरकारी र निजी क्षेत्रबीचको सहकार्यमा बनेको यो संस्थाले निकै उत्कृष्ट कार्य गरेको छ । सुरुवाती अवस्थामा नेपालमा उत्पादन नहुने नुनको आपूर्ति सुनिश्चित गर्न स्थापन गरिएको साल्ट्र ट्रेडिङले अहिले खाद्य सामग्री, कृषि उत्पादन,कागज, मेसिनरी तथा उपकरण लगायतका वस्तुको व्यापार, आयात, निर्यात, उत्पादन र वितरणजस्ता विविध क्षेत्रमा आफ्नो कारोबार विस्तार गरेको छ ।
साल्ट्र ट्रेडिङले कुल लगानीको ७९ प्रतिशत निजी क्षेत्र र २१ प्रतिशत सरकारी क्षेत्र (फुड म्यानेजमेन्ट एण्ड ट्रेडिङ कम्पनी लिमिटेडमार्फत) को साझेदारीमा सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ । हाल देशभर २२ शाखा र ७१ सम्पर्क कार्यालयसहित ९३ कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको कम्पनीको भनाई छ । संस्थाले शहरका मात्र नभइ हिमाली र दुर्गम जिल्लाका जनतालाई समेत आवश्यक उपभोग्य वस्तुहरु सहज रुपमा उपलब्ध गराउँदै आइरहेको छ ।
कम्पनीले गत वर्षको असारसम्म ६ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष ४ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । संस्थाको जगेडा कोषमा हाल करिब साढे १ अर्ब रुपैयाँ जम्मा रहेको छ । गत वर्ष कम्पनीले ९ अर्ब ३८ करोड रुपैयाँ आम्दानी गरेको देखिएको छ ।
चुक्ता पुँजी र जगेडा कोष
यस संस्थाको चुक्ता पुँजी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ । आव २०७९-८० मा यसको पुँजी २७ करोड ८८ लाख रुपैयाँ रहेको थियो । कम्पनीले लाभांश वितरण गरेपछि पुँजी बढेको हो ।
यता, गत वर्षको अन्तिम त्रैमाससम्म आइपुग्दा संस्थाको जगेडा कोषमा भने १ अर्ब ४५ करोड रुपैयाँ जम्मा रहेको छ । अघिल्लो वर्ष १ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, कम्पनीको ४ अर्ब ७२ करोड रुपैयाँ उधारो (कर्जा) रहेको छ ।

आम्दानी र नाफा
साल्ट ट्रेडिङले गत वर्ष ९ अर्ब ३८ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष संस्थाले १३ अर्ब ३५ करोड आम्दानी गरेको थियो । यता, कम्पनीले गत वर्षको असारसम्म ६ करोड १९ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष ४ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ
यस कम्पनीको प्रतिसेयर आम्दानी १९.३१ रुपैयाँ छ । अघिल्लो वर्ष १३.०६ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । प्रतिसेयर नेटवर्थ भने संस्थाको ४१६.७४ रुपैयाँ (अडिट नगरिएको) थियो ।

लाभांश (%)
साल्ट ट्रेडिङले आव २०८०-८१ मा १० प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसअघि २०७९-८० मा कम्पनीले १५.७९ प्रतिशत लाभांश दिएको थियो ।

देशको अर्थतन्त्रमा कृषिको महत्त्व अँगीकार गरिँदै वर्तमान सन्दर्भमा कर्पोरेसनले कृषि विकासमा योगदान पुर्याउने उद्देश्यअनुसार अनुदानित मलका अतिरिक्त आफ्नै तर्फबाट समेत गैरअनुदानित मल आयात गरी बिक्री वितरण गर्दै आएको छ । विराटनगरस्थित मोरङ सुगर मिल्समा कृषि औजार खरिद गरी उखु खेतीलगायत अन्य खेतीमा आधुनिकीकरण गरिएको छ ।
रासायनिक मलका अतिरिक्त गहुँको बिउ प्रशोधन गरी किसानसमक्ष पुर्याएको छ । संस्थाको स्थापना नुन कारोबारका लागि भएको थियो । नेपालभर सर्वसुलभ र सुपथ मूल्यमा नुनको आपूर्ति गर्ने जिम्मेवारी यो संस्थालाई सरकारले दिएको छ ।
छिल्ला वर्षमा यो संस्थाले नुनबाहेक अन्य वस्तुको पनि व्यापार गरिरहेको छ । ६ दशक लामो आफ्नो यात्रामा विभिन्न चुनौती पार गर्दै साल्ट ट्रेडिङले गुणस्तरीयता, मूल्यमा एकरुपता र सहज उपलब्धताको मन्त्र बनाएर सेवा दिइरहेको छ । तत्कालीन समय नुन उपलब्ध गराउन स्थापना गरिएको कर्पोरेसन पछिल्ला दिनमा अन्य व्यापारिक गतिविधिमा पनि संलग्न छ ।
अहिले नुनबाहेक मैदा, वनस्पति घिउ, ग्यास, गहुँजस्ता खाद्य सामग्री बिक्री वितरण गर्दै आएको छ । यस्तै, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, मोरङ सुगर मिललगायत केही वित्तीय संस्थामा पनि यसको लगानी छ । यसले गहुँको बीउ उत्पादनदेखि सरकारी अनुदानको रासायनिक मल खरिद–बिक्री, सहुलियतमा चिनी, दाल, गेडागुडीलगायतको व्यापार गरिरहेको छ ।







