काठमाडौँ । नेपालमा सामाजिक सुरक्षा कोष विभिन्न क्षेत्रका श्रमिकहरूलाई आर्थिक सुरक्षा प्रदान गर्ने लक्ष्य लिएर स्थापित गरिएको सरकारी योजना हो । यो योगदानमा आधारित सुरक्षा योजना हो जहाँ रोजगारदाता र श्रमिकहरूले तलबको निश्चित भाग कोषमा योगदान गर्छन् । यो कोष स्वास्थ्य सेवा, दुर्घटना कभरेज, वृद्धावस्था सुरक्षा र कटौती विरुद्ध सुरक्षा सहित विभिन्न सामाजिक सुरक्षा लाभहरू प्रदान गर्न डिजाइन गरिएको हो ।

सामाजिक सुरक्षा कोषले श्रमिक वा योगदानकर्ताको विभिन्न क्षेत्र छुट्याएको हुन्छ । यसमा औपचारिक, अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारी गरी चार वटा क्षेत्र छुट्याइका छन् । यो कोषमा आबद्ध हुने योगदानकर्ताले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरेर चार वटा योजनाबाट लाभ लिन सक्दछन् ।

सामाजिक सुरक्षा कोषमा कसरी आबद्ध हुने ?

सामाजिक सुरक्षा कोषमा आबद्ध हुनका लागि विभिन्न प्रक्रिया रहेका छन् । औपचारिक क्षेत्रका लागि रोजगारदाता र योगदानकर्ता गरेर दुई वटा पक्ष हुन्छन् । यसमा रोजगारदाता भन्नाले रोजगार प्रदान गरिरहेको संस्था भन्ने बुझिन्छ भने योगदानकर्ताले श्रमिक वा कर्मचारीलाई जनाउँछ ।

औपचारिक क्षेत्रका योगदानकर्ता कोषमा आबद्ध हुनका लागि सबैभन्दा सुरुमा रोजगारदाता कोषमा सूचीकृत भएको हुन आवश्यक हुन्छ । त्यसका लागि रोजगारदाताले कोषको वेभसाइटमा गएर सूचीमा आफ्नो संस्थालाई दर्ता गर्न सक्छन् । यसपछिको प्रक्रिया भनेको योगदानकर्ताको दर्ता हो । योगदानकर्ताको दर्ता केवल रोजगारदाताले गर्न सक्छन् । योगदानकर्ताको विवरण रोजगारदाताले सामाजिक सुरक्षा कोषको अनलाइन पोर्टलमार्फत् पेश गर्नुपर्ने हुन्छ । त्यसपछि योगदानकर्ताले आफ्नो लग इन युजर नेम र पासवर्ड प्राप्त गर्नेछन् ।

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिले भने स्थानीय तहको वडा कार्यालयले निज औपचारिक क्षेत्रमा कार्यरत श्रमिक रहेको भनी गरेको सिफारीस पत्र पेश गर्नुपर्छ ।

योगदानकर्ताले रकम कसरी जम्मा गर्छन् ?

सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको मासिक आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम जम्मा गरिन्छ । यसमा ११ प्रतिशत श्रमिक स्वयंले र २० प्रतिशत रोजगारदाताले बुझाउनुपर्ने हुन्छ । त्यसका अतिरिक्त योगदानकर्ताले आफ्नो इच्छाअनुसार योगदान रकम थप्न पनि सक्छन् । प्रत्येक महिनाको योगदान अर्काे महिनाको १५ गतेभित्रै कोषमा जम्मा गरिसक्नुपर्छ ।

जम्मा भएको ३१ प्रतिशत रकम विभिन्न योजनामा विभाजित गरिन्छ । वृद्धावस्था सुरक्षा योजनामा २८.३३ प्रतिशत रकम छुट्याइन्छ । त्यसमध्ये ८.३३ प्रतिशत अवकाश योजना र २० प्रतिशत निवृत्तिभरण (पेन्सन) योजनामा जान्छ । बाँकी १.४ प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षाका लागि, १ प्रतिशत स्वास्थ्य तथा मातृत्व सुरक्षाका लागि र ०.२७ प्रतिशत आश्रित परिवारको सुरक्षाका लागि छुट्याइन्छ ।

वैदेशिक रोजगारीमा रहेका व्यक्तिले भने न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम अर्थात् न्यूनतम दुई हजार रुपैयाँ र अधिकतममा त्यसको तीन गुणासम्म मासिक रूपमा कोषमा योगदान गरेर सुविधा लिन सक्छन् । विदेशमा रोजगार गरिरहेका व्यक्तिले कोषमा योगदान गर्दा पारिश्रमिकको ७.४८ प्रतिशत रकम दुर्घटना तथा अशक्तता र आश्रित परिवारको सुरक्षा योजनामा बाँडफाँड हुन्छ । यस्तै बाँकी १३.८५ प्रतिशत निवृत्तिभरणमा जान्छ ।

अनौपचारिक क्षेत्रका योगदानकर्ताले आफ्नो पारिश्रमिकको १०.३७ प्रतिशत रकम योगदान गर्नुपर्ने हुन्छ । त्यसमा ११ प्रतिशत श्रमिक आफैँले जम्मा गर्नुपर्छ भने बाँकी ९.३७ प्रतिशत रकम सरकारले बेहोर्ने गर्दछ ।

यस्तै स्वरोजगार योगदानकर्ताले आफूले दाबी गरेको मासिक पारिश्रमिकको ३१ प्रतिशत रकम स्वयमंले कोषमा जम्मा गर्नुपर्ने हुन्छ ।

केके छन् सामाजिक सुरक्षा कोषका फाइदा

सामाजिक सुरक्षा कोषमा आबद्ध भएका योगदानकर्ताले विभिन्न योजनाअन्तर्गत सुविधा लिन सक्छन् । औपचारिक क्षेत्रका योगदानकर्ताले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना अन्तर्गत वार्षिक १ लाख रुपैयाँसम्मको सुविधा लिन सक्छन् । नियमित ३ महिना योगदान गरेका योगदानकर्ता र उसको श्रीमान् वा श्रीमतीले ओपीडी उपचारमा वार्षिक २० हजार रुपैयाँसम्मको शोधभर्ना प्राप्त गर्न सक्नेछन् । त्यस्तै सोही आइपीडी उपचारका लागि वार्षिक ८० हजार रुपैयाँसम्मको शोधभर्ना सुविधा लिन सकिन्छ । दुई वर्ष योगदान गरेका योगदानकर्ताले घातक रोग लागेका खण्डमा १० लाख रुपैयाँसम्मको उपचार खर्चको पनि शोधभर्ना सुविधा लिन सक्नेछन् ।

अवकाश योजनाअन्तर्गत ६० वर्ष पुगेपछि वा रोजगारी अन्त्य भएपछि जम्मा भएको रकम झिक्न सकिन्छ । योगदानकर्ताको मृत्यु भएमा रकमसहितको प्रतिफल पनि हकवालाले एकमुष्ट पाउनेछन् । निवृत्तिभरण योजनामा जम्मा भएको रकम भने ६० वर्षपछि मासिक रूपमा वा एकैपटक झिक्न मिल्नेछ । पेन्सनको रकम १६० ले भाग गरेर प्रत्येक महिना प्रदान गरिन्छ । पेन्सन लिन थालिसकेपछि १८० महिना नपुग्दै मृत्यु भएमा वा पति वा पत्नी बेरोजगार भएमा उनीहरूले जीवनभर पेन्सनको ५० प्रतिशत प्राप्त गर्नेछन् ।

यदि योगदानकर्ताको मृत्यु हुँदा सन्तान अविवाहित र २१ वर्ष नपुगेका छन् भने उनीहरूले प्रत्येक महिना अन्तिम पारिश्रमिकको ४० प्रतिशतसम्म शैक्षिक वृत्तिको रूपमा पाउनेछन् । अशक्त सन्तानलाई भने उमेरको सीमा लागू हुँदैन । एकाघरमा सन्तान वा जीवनसाथी नभएर आमाबुबा आश्रित भएमा तिनीहरूले पनि मासिक पारिश्रमिकको ६० प्रतिशतसम्म जीवनभर पाउनेछन् । मृत्युपछि अन्तिम संस्कारका लागि नजिकका परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराइने प्रावधान पनि रहेको छ ।

तीन वर्षभन्दा बढी समय योगदान गरिसकेपछि आवश्यक परेमा अवकाश र पेन्सन योजनामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म ऋण लिन सकिन्छ । यो ऋणमा लगाइएको ब्याज बैंकको भन्दा कम हुने जनाइएको छ ।
स्वास्थ्य तथा मातृत्व सुरक्षामा पनि विशेष सुविधा छ । अस्पताल भर्ना, शल्यक्रिया, परीक्षण, औषधि खर्च, सुत्केरी हुँदा हुने खर्च तथा शिशुको उपचार खर्च पाउने व्यवस्था छ । घरमै उपचार गराउँदा चिकित्सकले दिएको परामर्श शुल्क समेत पाइन्छ । त्यसैगरी, प्रसूति स्याहारका लागि प्रति शिशु एक महिनाको न्यूनतम तलब बराबरको रकम दिइन्छ । कम्तीमा ३ महिना योगदान गरेका योगदानकर्ता वा दम्पतिले १ लाख रुपैयाँसम्मको मातृत्व सम्बन्धी उपचारको शोधभर्ना पनि उपभोग गर्न सक्नेछन् ।

कार्यालयको काम गर्दागर्दै दुर्घटना भएमा सम्पूर्ण उपचार खर्च पाइन्छ । अन्य अवस्थाको दुर्घटनामा भने सात लाख रुपैयाँसम्म सुविधा पाइन्छ । दुर्घटनाका कारण श्रमिक स्थायी रूपमा अशक्त भएमा, उसले जीवनभर मासिक ६० प्रतिशत पारिश्रमिक बराबर रकम पाउनेछ ।

पछिल्लो १२ महिनामा ९ महिना योगदान गरेका स्वरोजगार र अनौपचारिक क्षेत्रका योगदानकर्तालाई ओपीडी उपचारमा वार्षिक २० हजार रुपैयाँसम्म र आइपीडी उपचारका लागि वार्षिक ८० हजार रुपैयाँसम्मको शोधभर्नाको सुविधा रहेको छ । दुई वर्ष योगदान गरेका योगदानकर्ताले घातक रोग लागेका खण्डमा १० लाख रुपैयाँसम्मको उपचार खर्चको पनि शोधभर्ना सुविधा लिन सक्नेछन् । दुवै क्षेत्रका योगदानकर्ताले मातृत्व स्वास्थ्य योजनाका लागि १ लाख रुपैयाँसम्मको शोधभर्ना लिन सक्नेछन् ।

वैदेशिक रोजगारमा रहेका योगदानकर्ताले दुर्घटनाको कारण अस्थायी वा पूर्ण अक्षमता भएमा काममा नफर्केसम्म नेपाल सरकारले तोकेको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम प्राप्त गर्न सक्नेछन् । यस्तै पछिल्लो १२ महिनामा कम्तीमा ९ महिना योगदान गरेका योगदानकर्ताले दुर्घटनाका कारण अस्पताल भर्ना हुनुपरेमा औषधोपचारका लागि वार्षिक १ लाख रुपैयाँसम्म शोधभर्ना गराउन सक्नेछन् । दुर्घटनाका कारण स्थायी रूपमा अशक्त भएमा अशक्तताको अनुपातमा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशतसम्म आजीवन असक्षमता पेन्सन प्रदान गर्नेछ ।

यस्तै योगदानकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकम प्रतिफल सहित उसले इच्छाएको व्यक्तिले प्राप्त गर्नेछ । यस्तै मृतक योगदानकर्तामाथि आश्रित व्यक्तिलाई नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम पेन्सनका रूपमा मिल्नेछ । २१ वर्षभन्दा कम उमेरको सन्तान भएमा उसले पनि शैक्षिक वृत्तिअनुरूप आधारभूत पारिश्रमिकको ४० प्रतिशत पाउनेछ । त्यसका साथै अन्तिम संस्कार खर्चका लागि २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

वैदेशिक रोजमारमा रहेको योगदानकर्ताले अवकासपछि तोकिकए बमोजि ब्याज र लगानीबाट प्राप्त हुने थप प्रतिफल पनि पाउनेछन् । ३६ महिना योगदान पुगेपछि जम्मा भएको रकमको ८० प्रतिशत रकम सापटीको रूपमा पनि निकाल्न सकिनेछ ।