काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा कम्पनीहरूमा परेका दाबीको हालसम्म ५ अर्ब १८ करोड भुक्तानी भएको छ । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कूल ३ हजार ३०३ वटा बीमा दाबीको करिव २३ अर्ब ४५ करोड दाबी परेको थियो ।

प्राधिकरणमा १४ वटा निर्जीवन बिमा कम्पनी र ४ वटा लघु निर्जीवन बिमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बिमातर्फ ७१० वटा बीमा दाबीको दाबी रकम करिव १९ अर्ब २ करोडमध्ये करिव ३ अर्ब ८२ करोड र मोटर बिमातर्फ २ हजार ३११ वटा बिमा दाबीको दाबी रकम करिव ३ अर्ब ४७ करोडमध्ये करिव १ अर्ब २२ करोड भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बिमातर्फ २२५ वटा बिमा दाबीको करिव ५५ करोड ४७ लाख दाबी रकममध्ये करिव ७ करोड ५० लाख, परिवहन बिमातर्फ १२ वटा बिमा दाबीको करिव १ करोड ६९ लाख दाबी रकममध्ये करिव १ करोड ५५ लाख र अन्य बिमातर्फ ४५ वटा बिमा दाबीको करिव ३८ करोड ४० लाख दाबी रकममध्ये करिव ५ करोड ५० लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।

अग्रिम भुक्तानीसहित करिब ३ अर्ब २ करोड रुपैयाँ पुनर्बीमा दाबी भुक्तानी

जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बिमा कम्पनीहरूलाई करिव ३ अर्ब २ करोड अग्रिम भुक्तानी समेत गरी पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।
नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६२ वटा पुनर्बीमा दाबीको दाबी रकम करिव १६ अर्ब ६२ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।