काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ ओभर सब्सक्राइब्ड भएको छ । उक्त प्राथमिक शेयर (आईपीओ)मा खुलेको ४० मिनेटमै मागभन्दा बढी आवेदन परेका हुन् । सोमबार बिहान १० बजेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरिएको उक्त आईपीओ ४० मिनेटभित्रै ‘ओभर सब्सक्राइब्ड’ भएको हो ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार, १०:४० बजेसम्ममा २१ हजार ९५३ जना आवेदकबाट ११ लाख ५६ हजार ४८० कित्ताका लागि आवेदन परेको छ । कम्पनीले सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्कासन गरेको थियो । यो माग गरिएको संख्या निष्कासित शेयरको तुलनामा करिब २५ प्रतिशतले बढी हो ।

सर्वसाधारणका लागि आवेदन दिने अवधि पुस ७ गतेदेखि ११ गतेसम्म तोकिएको भए पनि पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले निष्कासन प्रक्रिया छिट्टै बन्द हुने सम्भावना देखिएको छ । बुक बिल्डिङ विधिमार्फत निष्कासन गरिएको यस आईपीओको प्रतिशेयर मूल्य ६०८ रुपैयाँ तोकिएको छ ।