काठमाडौं । लघुबाहेकका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म उल्लेख्य व्यवसाय वृद्धि हासिल गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा उक्त कम्पनीहरूले १४ लाख १९ हजार ५४८ वटा बीमालेख बिक्री गर्दै कुल २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
गत आर्थिक वर्षको पुस मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले १३ लाख ८९ हजार ३१९ वटा बीमालेख बिक्रीबाट २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए। सोही अवधिसँग तुलना गर्दा चालू आवको पुससम्म कम्पनीहरूको कुल व्यवसाय १३.३७ प्रतिशतले वृद्धि भएको प्राधिकरणले जनाएको छ।
मासिक आधारमा समेत निर्जीवन बीमा व्यवसायमा वृद्धि देखिएको छ। गत आवको पुस महिनामा ३ अर्ब ७० करोड रुपैयाँ बीमाशुल्क संकलन भएकोमा चालू आवको पुस महिनामा यो रकम बढेर ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। हाल नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूले सेवा प्रदान गर्दै आएका छन्।
कम्पनीगत विवरणअनुसार चालू आवको पुससम्म सबैभन्दा बढी बीमाशुल्क शिखर इन्स्योरेन्सले संकलन गरेको छ। शिखर इन्स्योरेन्सले यस अवधिमा २ अर्ब ७७ करोड रुपैयाँ बीमाशुल्क उठाएको छ। यता सबैभन्दा कम बीमाशुल्क राष्ट्रिय बीमा कम्पनीले संकलन गरेको छ, जसले ५६ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
यसैबीच, लघुबीमा कम्पनीहरूको व्यवसायमा पनि उल्लेख्य वृद्धि देखिएको छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्म निर्जीवन लघुबीमा कम्पनीहरूले २ लाख ३० हजार वटा बीमालेखमार्फत ६२ करोड ६७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन्। गत आवको पुस मसान्तसम्म लघुबीमा कम्पनीहरूले १ लाख ६८ हजार वटा बीमालेख बिक्री गरी ४२ करोड २९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए।
हाल नेपालमा नेपाल, प्रोटेक्टिभ, स्टार र ट्रस्ट माइक्रो इन्स्योरेन्स गरी चार वटा कम्पनीले निर्जीवन लघुबीमाको कारोबार गर्दै आएका छन्। चालू आर्थिक वर्षको पहिलो छ महिनामा निर्जीवन बीमा तथा लघुबीमा दुवै क्षेत्रमा व्यवसाय विस्तार देखिएको छ। बीमाप्रति बढ्दो जनचेतना, जोखिम व्यवस्थापनप्रतिको रुचि र पछिल्ला घटनाबाट उत्पन्न सचेतनाले बीमा बजारलाई थप चलायमान बनाएको देखिन्छ।







