काठमाडौं । नेपाल टेलिकमले चालू आ.व २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चालन आयमा सामान्य वृद्धि भए पनि खुद मुनाफामा भने गिरावट देखिएको छ ।

दोस्रो त्रैमाससम्म कम्पनीको कुल सञ्चालन आय १७ अर्ब २९ करोड ९७ लाख ३० हजार रूपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७३ प्रतिशत (२९ करोड ४८ लाख रुपैयाँ) ले बढी हो । यद्यपि, कम्पनीको कुल आम्दानीमा भने १.५ प्रतिशतले कमी आई १९ अर्ब २२ करोड ७२ लाख ६६ हजार रूपैयाँ कायम भएको टेलिकमले जनाएको छ ।

कम्पनीको खुद मुनाफा गत वर्षको तुलनामा १२.९८ प्रतिशतले घटेको छ । गत वर्ष दोस्रो त्रैमाससम्म ४ अर्ब ७८ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको टेलिकमले यस वर्षको सोही अवधिमा ४ अर्ब १६ करोड ४५ लाख ९ हजार रूपैयाँ मात्र नाफा आर्जन गरेको छ ।त्यसैगरी, कर अघिको मुनाफा पनि ४.५९ प्रतिशतले घटेर ५ अर्ब ९१ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिकीकरण) ४६ रुपैयाँ २७ पैसा रहेको छ ।

कम्पनीले मुनाफा घट्नुमा विभिन्न बाह्य र आन्तरिक कारण जिम्मेवार ठहर्‍याएको छ ।

जसमा ह्वाट्सएप, भाइबर जस्ता ओटीटी सेवाहरूको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय आगमन कलमा कमी, बजारमा ब्याजदर क्रमिक रूपमा घट्नु र लगानीको मूल्य परिवर्तन कर्मचारी खर्चमा वृद्धि, कर र अन्य खर्चजस्ता कारण देखाइएको छ ।

प्रतिकूल परिस्थिति बाबजुद राष्ट्रको सञ्चार सेवा प्रदायकको नाताले दुर्गम क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारलाई निरन्तरता दिने टेलिकमले प्रतिबद्धता जनाएको छ ।