काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध दायर भ्रष्टाचार मुद्दामा आवश्यक प्रमाण झिकाउन आदेश दिएको छ ।

मंगलबार न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सम्बन्धित कागजात झिकाउन निर्देशन दिएको हो ।

पौडेलमाथि करिब ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा बराबरको अवैध सम्पत्ति आर्जन गरेको आरोप लगाइएको छ । सोही आधारमा उनीविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा अघि बढाइएको हो ।

आयोगले मुद्दामा पौडेलसँगै उनकी पत्नी एलिना बस्नेत, पिता धर्मप्रसाद र आमा शितललाई पनि प्रतिवादी बनाएको छ ।  सम्पत्ति जफत गर्ने प्रयोजनले उनीहरूलाई समेत मुद्दामा समावेश गरिएको जनाइएको छ ।

पौडेल यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा इञ्जिनियरका रूपमा कार्यरत थिए । उनले आपूर्तिकर्ताबाट प्राप्त कमिसन रकम परिवारका सदस्य तथा अन्य व्यक्तिको नाममा राखेर चलनचल्तीमा ल्याएको अख्तियारको दाबी छ।