काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक रहेको गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आउन लागेको ‘गरिमा सुवर्ण योजना’ को इकाई बिक्री फागुन २८ गतेदेखि खुला हुने भएको छ।

योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाई निष्काशन गरिनेछ। कुल निष्काशनमध्ये ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटलका लागि र ९० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंकका लागि सुरक्षित राखिएको छ। बाँकीमध्ये प्रथम चरणमा ३ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि सार्वजनिक रूपमा बिक्री खुला गरिनेछ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्। छिटोमा चैत २ गतेसम्म र ढिलोमा चैत १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। उक्त योजना खुलामुखी प्रकृतिको रहेको छ, जसअन्तर्गत लगानीकर्ताले तोकिएको प्रक्रिया अनुसार पछि पनि इकाई खरिद तथा बिक्री गर्न सक्नेछन्।