काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत जारी प्रारम्भिक मतगणनामा काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेख्य अग्रता कायम गरेको छ । हालसम्म प्राप्त प्रारम्भिक नतिजाअनुसार उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपा उम्मेदवार अगाडि रहेका छन्।
काठमाडौंका १० तथा ललितपुर र भक्तपुरका २/२ निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारले अग्रता लिएका हुन्। काठमाडौं क्षेत्र नम्बर १ मा रञ्जु दर्शना, २ मा सुनिल केसी, ३ मा राजुनाथ पाण्डे, ४ मा पुकार बम, ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त महर्जन, ९ मा डीपी अर्याल र १० मा प्रदीप विष्ट अगाडि रहेका छन्।
ललितपुर क्षेत्र नम्बर २ मा जगदिश खरेल र क्षेत्र नम्बर ३ मा तोसिमा कार्कीले अग्रता कायम गरेका छन्। यद्यपि ललितपुर क्षेत्र नम्बर १ मा भने नेपाली कांग्रेसका उदय शमशेर राणाले अग्रता लिएका छन्।
त्यस्तै भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा पनि रास्वपाका उम्मेदवार अगाडि छन्। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को गढ मानिने भक्तपुर क्षेत्र नम्बर १ मा रास्वपाका रुकेश रन्जित अगाडि रहँदा नेमकिपाका प्रेम सुवाल पछ्याइरहेका छन्। भक्तपुर क्षेत्र नम्बर २ मा रास्वपाका राजिव खत्रीले अग्रता लिँदा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत पछि परेका छन्।
प्रारम्भिक मतगणनाले काठमाडौं उपत्यकामा रास्वपाको बलियो उपस्थिति देखाएको विश्लेषण गरिएको छ भने अन्तिम परिणामका लागि भने थप मतगणना हुन बाँकी रहेको निर्वाचन अधिकारीहरूले बताएका छन्।







