काठमाडौं। नेपाल राष्ट्र बैंक का डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना र बमबहादुर मिश्रको पाँच वर्षे कार्यकाल (आज) आइतबारबाट सकिएको छ। कार्यकाल समाप्त भएसँगै सोमबार राष्ट्र बैंकले उनीहरूलाई औपचारिक रूपमा बिदाइ गर्ने तयारी गरेको छ।
डा. ढुंगाना र मिश्र २०७७ साल फागुन महिनामा डेपुटी गभर्नर पदमा नियुक्त भएका थिए। त्यसयता उनीहरूले राष्ट्र बैंकको मौद्रिक नीति कार्यान्वयन, वित्तीय प्रणालीको स्थायित्व कायम राख्ने तथा बैंकिङ क्षेत्रको नियमन र सुपरिवेक्षणसम्बन्धी विभिन्न काममा भूमिका निर्वाह गर्दै आएका थिए।
यस अवधिमा दुवै जना भविष्यका गभर्नरका सम्भावित प्रतिस्पर्धीका रूपमा पनि चर्चामा रहेका थिए। तर गभर्नर नियुक्ति प्रक्रियामा भने उनीहरू अन्तिम रूपमा चयन हुन सकेनन्। डेपुटी गभर्नरद्वयको कार्यकाल सकिएसँगै राष्ट्र बैंकमा अब दुई वटा पद रिक्त भएको छ। सोमबारबाट औपचारिक रूपमा पद खाली भएपछि नयाँ डेपुटी गभर्नर नियुक्तिको विषयमा चर्चा पनि सुरु भएको छ।
राष्ट्र बैंक ऐन, २०५८ को दफा १६ अनुसार डेपुटी गभर्नरको नियुक्ति मन्त्रिपरिषद्ले गभर्नरको सिफारिसमा गर्ने व्यवस्था छ। सोही प्रावधानअनुसार गभर्नरले राष्ट्र बैंकभित्र कार्यरत विशिष्ट श्रेणी अर्थात् कार्यकारी निर्देशकहरूमध्येबाट कार्यक्षमता, अनुभव र योग्यताको आधारमा नाम सिफारिस गर्नुपर्ने हुन्छ।
हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक कार्यरत छन्। तीमध्येबाट गभर्नरले उपयुक्त उम्मेदवारको नाम छनोट गरी मन्त्रिपरिषद्मा सिफारिस गर्ने प्रक्रिया अघि बढ्नेछ।
हाल कार्यरत कार्यकारी निर्देशकहरूमा नरेश शाक्य, रेवतीप्रसाद नेपाल, रामु पौडेल, बिश्रुत पौडेल, दयाराम शर्मा, गुरु प्रसाद पौडेल, किरण पण्डित, डा. सत्येन्द्र तिम्सिना, चेतप्रसाद उप्रेती, रोशनकुमार सिग्देल, डा. रामशरण खरेल, डा. दिल्लीराम पोखरेल, दीर्घबहादुर रावल, निश्चल अधिकारी, दीपकराज लामिछाने, राजनविक्रम थापा र राजेन्द्र भट्टराई रहेका छन्।
डेपुटी गभर्नर पद रिक्त भएसँगै अब यी कार्यकारी निर्देशकहरूमध्येबाट कसलाई नयाँ जिम्मेवारी दिइने भन्ने विषयमा बैंकिङ वृत्तमा चासो बढेको छ। नयाँ नियुक्ति भएपछि राष्ट्र बैंकको उच्च व्यवस्थापन टोली पुनः पूर्ण हुने अपेक्षा गरिएको छ।







