काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती सेवामा आफ्नो नाम जोडेर केही समूह वा अभियान चलाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा पार्टीले यस्ता गतिविधिसँग कुनै पनि प्रकारको संलग्नता, समर्थन वा आबद्धता नरहेको स्पष्ट पारेका छन्।
पार्टीको स्थापना कालदेखि नै निजामती प्रशासन पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त, व्यावसायिक र जनताप्रतिको उत्तरदायी हुनुपर्ने रहेको र सो कुरामा आफुहरु दृढ रहेको विज्ञप्तीमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, “निजामती प्रशासनभित्र रहेका कुनै पनि समूह, अभियान वा युनियन शैलीका संरचनासँग हाम्रो पार्टीको कुनै सम्बन्ध छैन। हाम्रो नाम प्रयोग गरेर व्यक्तिगत स्वार्थ सिद्ध गर्ने प्रयास भए, त्यस्ता भ्रममा नपर्न हामी कर्मचारी र सरोकारवालाहरूलाई आग्रह गर्दछौँ। कर्मचारीहरू केवल राज्य र जनताप्रति जिम्मेवार रहनुपर्छ र प्रशासन मेरिटोक्रेसीको आधारमा चलाउनुपर्छ।”
साथै विज्ञप्तिमा कुनै पनि राजनीतिक दलको प्रभावमा प्रशासनलाई चलाउने वा शक्ति केन्द्रको नाममा दबाब दिने कार्य पार्टीको नीति विरोधी भएको उल्लेख छ। पार्टीले सबै राष्ट्रसेवक कर्मचारीहरूलाई पूर्ण तटस्थ, निष्पक्ष र जिम्मेवार भई जनताको सेवामा समर्पित हुन हार्दिक अपिल गरेको छ।








