काठमाडौँ। पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ अन्तर्गत गण्डक नहर नजिक रहेको गुठीको करिब ५ बिघा अतिक्रमित जमिन खाली गराइएको छ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोको पहलमा आज बिहानैदेखि ७ वटा डोजर प्रयोग गरेर खाली गराउने काम सुरु गरिएको गाउँपालिका अध्यक्ष जयवस्न यादवले जानकारी दिएका छन्।
उनका अनुसार सो क्षेत्रमा बनेका झण्डै ३८० घरटहरा हटाइएका छन्। गाउँपालिकाले विगत दुई वर्षदेखि अतिक्रमण हटाउने प्रयास गर्दै आए पनि सफल हुन सकेको थिएन। केही दिनअघि मन्त्री महतो स्वयं स्थलगत निरीक्षणमा पुगेपछि योजनाबद्ध रूपमा खाली गराउने प्रक्रिया अघि बढाइएको अध्यक्ष यादवले बताए।
‘अहिले पनि काम जारी छ, ३८० वटा घरटहरा हटाइसकिएको छ। यो काम मन्त्री फकिरा महतोको विशेष पहलमा भइरहेको छ’ उनले भने।
यसैबीच, सोही गाउँपालिकाको मधुवन क्षेत्रमा रहेको गुठीको थप २९ बिघा अतिक्रमित जमिन पनि खाली गराउने कार्य चलिरहेको मन्त्री महतोले जानकारी दिएका छन्। उक्त अभियानका लागि करिब ३०० जना नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।







