काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले देशको प्रमुख शत्रु भ्रष्टाचार, अशिक्षा र गरिबी भएको बताएका छन् । बिहीवार नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।
मन्त्री किराँतीले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए । उनले देशको प्रमुख शत्रु भ्रष्टाचार, अशिक्षा र गरिबी भएको बताउँदै उनले यसलाई राष्ट्रिय एकताका साथ परास्त गर्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रो अहिलेको सबभन्दा ठूलो प्रमुख शत्रु भनेको भ्रष्टाचार हो । हाम्रो प्रमुख सत्रु भनेको अशिक्षा हो । एक्काइसौँ शताब्दीको यो घडीमा हामीलाई भ्रष्टाचार र अशिक्षा सैह्य छैन । भ्रष्टाचार साझा सत्रु हो भने हामीले मिलेर राष्ट्रिय एकताका साथ नै यसलाई परास्त गर्नुपर्छ भन्ने लाग्छ । भ्रष्टाचार पनि देशको साझा शत्रु हो भने, अशिक्षा र गरिबी पनि हाम्रो देशको साझा शत्रु हो भने हामी राष्ट्रिय सहमतिको सरकारतिर जाऔँ ।’
उनले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पुष्पकमल दाहालले नै गर्नुपर्ने बताए ।
उनले भने, ‘राष्ट्रिय सहमतिको सरकार प्रचण्ड नेतृत्वमै बनाऔँ । किनभने यही नेतृत्वमै देखियो अफ्ठ्याराे परेको बेला निकास दिनसक्ने । उस्तै परे भत्काउन पनि आँट गर्नसक्ने । त्यसो भएको हुनाले यही नेतृत्वमा पहिला राष्ट्रिय सहमतिको सरकार बनाएर जाऔँ ।’






