एजेन्सी । नासाले चन्द्रमामा दीर्घकालीन मानव बसोबास सुनिश्चित गर्ने लक्ष्यसहित ‘मून बेस’ निर्माण योजनाको रूपरेखा सार्वजनिक गरेको छ। यो योजना आर्टेमिस कार्यक्रम अन्तर्गत अघि बढाइएको हो, जसमा चन्द्रमाको दक्षिणी ध्रुव आसपास क्षेत्रलाई मुख्य केन्द्र बनाउने तयारी गरिएको छ।

वासिङ्टनस्थित मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा नासाका अधिकारीहरूले चन्द्रमामा अनुसन्धान, अन्वेषण र सम्भावित व्यावसायिक गतिविधिका लागि आवश्यक संरचना निर्माणको योजना प्रस्तुत गरेका थिए। परियोजनालाई तीन चरणमा अघि बढाइने जनाइएको छ।

पहिलो चरण सन् २०२९ सम्म सञ्चालन हुनेछ, जसमा रोबोटमार्फत अन्वेषण र नयाँ प्रविधिको परीक्षण गरिनेछ। त्यसपछि २०२९ देखि २०३२ सम्म दोस्रो चरणमा प्रारम्भिक आवास, ऊर्जा उत्पादन र सञ्चार प्रणालीको विकास गरिनेछ। तेस्रो चरण २०३२ पछि सुरु हुने गरी स्थायी मानव उपस्थिति स्थापना र चन्द्रमाका स्रोतको उपयोग विस्तार गर्ने लक्ष्य राखिएको छ।

नासाका अनुसार दक्षिणी ध्रुव क्षेत्र लामो समयसम्म घाम लाग्ने भएकाले सौर्य ऊर्जा उत्पादनका लागि उपयुक्त मानिन्छ। साथै, यहाँको भूगोल वैज्ञानिक रूपमा पनि महत्त्वपूर्ण छ, जसले चन्द्रमा र पृथ्वीको प्रारम्भिक इतिहासबारे नयाँ जानकारी दिन सक्छ।

यो परियोजना सफल बनाउन अन्तर्राष्ट्रिय सहकार्य र निजी क्षेत्रको सहभागिता अपरिहार्य हुने नासाले स्पष्ट पारेको छ।