काठमाडौँ। सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा, अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.०२ प्रतिशतले बढेको छ । संस्थाले गत आर्थिक वर्ष २०८०र८१ को चौथो त्रैमाससम्ममा २ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले १ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि १८.१९ प्रतिशतले बढेर ८ करोड २९ लाख रुपैयाँ पुगेको छ । संस्थाको कर्मचारी खर्च ५ करोड ३९ लाख र अन्य सञ्चालन खर्च २ करोड ४० लाख रुपैयाँ रहेको छ । संस्थाको सञ्चालन मुनाफा पनि बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १ करोड १ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर २ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८५ पैसा बढेर २२ रुपैयाँ १६ पैसा पुगेको छ। त्यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात ८३.९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा रहेको छ।
१० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब २६ करोड सापटी र ३४ करोड निक्षेपबाट कुल १ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ।







