काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा वृद्धि भएको छ । कम्पनीको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफामा वृद्धि भएको हो । चालु आवको पहिलो त्रैमाससम्मको अवधिमा संस्थाको खुद नाफामा ६३.०८ प्रतिशतको बढोत्तरी आएको छ।

त्रैमाससम्मको अवधिमा संस्थाले २६ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो पहिलो त्रैमाससम्मको सोही अवधिमा भने संस्थाले १५ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  त्यस्तै, संस्थाको खुद ब्याज आम्दानी ३४.२९ प्रतिशतले बढेर १ करोड ९४ लाख रुपैयाँ पुगेको छ।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफामा वृद्धि भएको छ । भने संस्थाको कर्मचारी खर्च १ करोड ५२ लाख र अन्य सञ्चालन खर्च ६१ लाख ७५ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म २५ लाख ३६ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर २९ लाख ३८ हजार रुपैयाँ पुगेको  हो ।

संस्था खराब कर्जा अनुपात घटाउन सफल भएको छ । संस्थाको खराब कर्जा अनुपात १.६७ प्रतिशतबाट घटेर १.६४ प्रतिशतमा सीमित बनेको छ। संस्थाले सम्भावित घाटाका लागि ८ लाख २ हजार रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ५ करोड ३८ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार बढेर ५ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

संस्थाले समीक्षा अवधिसम्म ३६ करोड २७ लाख निक्षेप संकलन र १ अर्ब ६७ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ।  यस अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी९ईपीएस० ९.६९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५२.०५ रुपैयाँ रहेको छ ।