काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा १४ वटा जीवन बीमा कम्पनीले ४ अर्ब ८८ करोड ७२ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीहरूले ४ अर्ब ३६ करोड ६२ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए। गत वर्षको तुलनामा जीवन बीमा कम्पनीहरूको नाफा ११.९३ प्रतिशतले बढेको हो ।

९ महिनाको अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै नाफा आर्जन गरेको छ । चैत्र मसान्तसम्ममा नेपाल लाइफले ६५ करोड २२ लाख २३ हजार रुपैयाँ नाफा गरेको हो । जुन जीवन बीमा कम्पनीहरूमध्येकै सबैभन्दा धेरै हो । गत वर्षको चैतमा यस कम्पनीले ६० करोड ३ लाख ५७ हजार रुपैयाँ नाफा गरेको थियो ।

नाफा वृद्धिको आधारमा भने यस अवधिमा सबैभन्दा अगाडि एशियन लाइफ रहेको छ । एशियन लाइफको नाफामा ५९.५० प्रतिशतले बढेर ३३ करोड ४७ लाख १६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको चैतमा यस कम्पनीले २० करोड ९८ लाख ४४ हजार रुपैयाँ नाफा गरेको थियो ।

त्यस्तै यस अवधिमा रिलायबल नेपाल लाइफको ३६.८७ प्रतिशत बढेर ४६ करोड ५७ लाख ६९ हजार रुपैयाँ, सूर्य ज्योति लाइफको ३१.८९ प्रतिशत बढेर २९ करोड ५७ लाख ५० हजार रुपैयाँ, अमेरिकन मेट लाइफको २७.६० प्रतिशत बढेर ३४ करोड ५१ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

साथै, सिटिजन लाइफको ३५ करोड ७६ लाख ४८ हजार रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) को २३ करोड ६० लाख २२ हजार रुपैयाँ, सानिमा रिलायन्सको १०.७६ प्रतिशत बढेर ३३ करोड ७६ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

यो अवधिमा आइएमई लाइफको १०.४८ प्रतिशत बढेर ३६ करोड ६३ लाख ३३ हजार रुपैयाँ, हिमालयन लाइफको ८.४९ प्रतिशत बढेर ४७ करोड २४ लाख रुपैयाँ, नेशनल लाइफको ५.१८ प्रतिशत बढेर ४० करोड ८५ लाख २२ हजार रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको ०.६७ प्रतिशत बढेर २७ करोड ७ लाख २३ हजार रुपैयाँ नाफा आर्जन भएको छ ।

समीक्षा अवधिसम्ममा राष्ट्रिय जीवन बीमा कम्पनी र सन नेपाल लाइफको नाफामा भने गिरावट आएको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको ३७.१० प्रतिशत घटेर १ करोड ५४ लाख १९ हजार रुपैयाँ र सन नेपाल लाइफको ३३.३५ प्रतिशत घटेर ३२ करोड ८९ लाख ९७ हजार रुपैयाँ मात्रै नाफा आर्जन भएको हो ।