काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ७२ अर्ब ७३ करोड ९६ लाख रुपैयाँ बराबरको कुल नवीकरण प्रिमियम संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले उक्त अवधिमा उल्लेख्य नवीकरण बीमा व्यवसाय गरेका हुन्।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीहरूको नवीकरण प्रिमियम संकलन १४.७५ प्रतिशतले वृद्धि भएको देखिएको छ। अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ६३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बराबरको नवीकरण प्रिमियम संकलन गरेका थिए।

कुल नवीकरण प्रिमियम संकलनको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले पुस २०८२ सम्म १९ अर्ब ५२ करोड १३ लाख रुपैयाँ बराबरको नवीकरण प्रिमियम संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.२९ प्रतिशतले वृद्धि भएको हो।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले ८ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ र नेशनल लाइफ इन्स्योरेन्स ले ८ अर्ब २६ करोड ३६ लाख रुपैयाँ नवीकरण प्रिमियम संकलन गरेका छन्। नेशनल लाइफको नवीकरण प्रिमियम अघिल्लो वर्षको तुलनामा १५.४९ प्रतिशतले बढेको छ।

नवीकरण प्रिमियम वृद्धिदरका आधारमा भने सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले अघिल्लो वर्षको तुलनामा १५४.०३ प्रतिशतको उच्च वृद्धिदर हासिल गर्दै ५ अर्ब ७१ करोड २७ लाख रुपैयाँ नवीकरण प्रिमियम संकलन गरेको छ।

त्यसपछि दोस्रो स्थानमा आइएमइ लाइफ इन्स्योरेन्स र र तेस्रो स्थानमा सन नेपाल लाईफ इन्स्योरेन्स अग्र स्थानमा रहेका छन् ।आइएमई लाइफ इन्स्योरेन्स ले २२.५० प्रतिशतको वृद्धिसहित २ अर्ब ८ करोड ३६ लाख रुपैयाँ नवीकरण प्रिमियम आर्जन गरेको छ।

अन्य कम्पनीहरूमध्ये हिमालयन लाइफले ७ अर्ब ४५ करोड ६५ लाख रुपैयाँ (५.६५ प्रतिशत वृद्धि), सूर्या ज्योति लाइफ इन्स्योरेन्सले ४ अर्ब २२ करोड २९ लाख रुपैयाँ (१२.६३ प्रतिशत वृद्धि) तथा एशियन लाइफ इन्स्योरेन्सले ३ अर्ब ५० करोड ६७ लाख रुपैयाँ (६.४८ प्रतिशत वृद्धि) नवीकरण प्रिमियम संकलन गरेका छन्।

त्यसैगरी, सिटिजन लाइफ इन्स्योरेन्सले २ अर्ब ७४ करोड २९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २ अर्ब ६३ करोड १० लाख रुपैयाँ र मेट लाइफ इन्स्योरेन्सले २ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ नवीकरण प्रिमियम संकलन गरेका छन्।

                                                  तालिकामा हेर्नुहोस्