काठमाडौँ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले लगानी अभिवृद्धि गर्नका लागि वातावरण निर्माण बने मात्रै परिवर्तन सम्भव भएको बताएका छन् ।
उद्योग वाणिज्य महासंघले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले वर्तमान सरकार बनेदेखि अर्थतन्त्रका समस्या समाधानका लागि विशेष प्रयास गरिरहेको बताए । उनले निरन्तर निजी क्षेत्रसँग संवाद गरी उद्यमी व्यवसायीका समस्या समाधानका लागि पहल गरिरहेको तर्क राखे ।
उनले भने, तातकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका लागि काम गरिरहेको छौँ ।आर्थिक सुधारका लागि गठन हुने उच्चस्तरीय सुधार आयोगले अध्ययन गरी अल्प मध्य र दीर्घकालीन सुधार गर्ने प्रतिबद्धता जनाउँछु ।
साथै, उनले सरकारले बनाउने कुनै पनि कानुन एकोहोरा ढङ्गले लैजाने क्रममा नरहेको बताए । महासंघले संसदमा विचाराधीन र निजी क्षेत्र सम्बद्ध करिब डेढ दर्जन कानुन सुधारमा दफावार रूपमा उद्यमी व्यवासीका सुझाव प्रस्तुत गरेको थियो ।
विशेष अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नीतिगत सुधारका लागि लगानी सम्मेलनका बेला भएका संशोधनले वातावरण तयार पारको बताए । उनले विशेष आर्थिक क्षेत्र र अन्य ठाउँमा पनि मझौला र ठुला उद्योगहरूको दर्ता हुने क्रम बढेको बताए ।







