काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक तथा व्यावसायिक वातावरण एवं लगानी अभिवृद्धिका लागि सरकारले ल्याएका अध्यादेश सकारात्मक रहेको जनाएको छ ।

चेम्वरले आज एक बिज्ञप्ति जारी गर्दै सार्वजनिक सेवा सुधार गर्दै व्यावसायिक वातावरण र लगानी अभिवृद्धिका लागि कानुनमा संशोधन गर्न सरकारले ल्याएको अध्यादेश सकारात्मक तथा र दुरगामी महत्त्वको रहेको जनाएको हो ।
चेम्बरले जारी गरेको विज्ञप्तिमा सार्वजनिक सेवा सुधार र आर्थिक तथा व्यावसायिक वातावरण एवं लगानी अभिवृद्धि गर्न अध्यादेश आएको छ, यसले मुलुकको आर्थिक वातावरणमा सुधार र लगानी अभिवृद्धि हुने विश्वास लिएको् उल्लेख गरिएको छ ।

अर्थतन्त्र सुधार एवं लगानीमैत्री वातावरणका लागि चेम्बरले कानुनी पाटो सुधार गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएको समेत जनाएको छ । वर्तमान अर्थतन्त्रको अवस्था सुधार गर्न सरकार प्रतिबद्ध रहेको देखिएको चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले बताए ।

रकम फिर्ता लैजान चाहने विदेशी लगानीकर्ताको प्रस्ताव ७ दिनमै स्वीकृत हुने अध्यादेशमा उल्लेखित व्यवस्थाको चेम्बरले स्वागत गरेको छ । यसले मुलुकभित्र लगानीको राम्रो वातावरण रहेको सन्देश जाने अध्यक्ष अग्रवालले बताए । सूचना प्रविधि उद्योगले विदेशमा कार्यालय खोल्न र लगानी गर्न सक्ने अध्यादेशमा उल्लेखित प्रावधान यस क्षेत्रको विकासका लागि कोशेढुंगा भएको चेम्बरको ठहर छ ।

आर्थिक तथा व्यावसायिक वातावरण सुधार एवं लगानी अभिवृद्धि सम्बन्धी अध्यादेशबाट विभिन्न ११ र सुशासन प्रर्वद्धन तथा सार्वजनिक सेवा सम्बन्धी अध्यादेशबाट १३ कानुन संशोधन हुनु अर्थतन्त्रको दिगो विकासका लागि महत्त्वपूर्ण भएको चेम्बरले उल्लेख गरेको छ ।

जग्गाबाहेक स्थिर सम्पत्ति वा सम्झौता धितो राखेर पनि ऋण लिन सकिने व्यवस्थाले अर्थतन्त्र र वित्तीय क्षेत्र चलायमान बनाउन सहयोग पुग्ने चेम्बरले विश्वास लिएको छ । बैंक तथा वित्तीय क्षेत्रमा अधिक तरलता रहेका सन्र्दभमा अध्यादेशमा उल्लेखित प्रावधानले केही सहजता प्रदान गर्ने अध्यक्ष अग्रवालले बताए ।

हाल सञ्चालनमा रहेका उद्योग सेजमा सारिए कर छुट दिइने व्यवस्थाको स्वागत गर्दै चेम्बरले आन्तरिक उत्पादनदेखि बजारीकरणसम्म सहज हुने अपेक्षा समेत गरेको छ ।

यस्तै अर्थतन्त्रको शिथिलता अन्त्य गर्न अध्यादेश महत्त्वपूर्ण भएको भन्दै संसद्को हिउँदे अधिवेशनबाट अध्यादेश टुंग्याउनसमेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ ।