काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सरकारले ल्याएको अध्यादेशले व्यवसाय क्षेत्रलाई नयाँ ऊर्जा प्रदान गरेको बताएका छन् ।

भृकुटीमण्डपमा आयोजित ‘आठौं नेपाल चेम्बर एक्स्पो २०२५’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले ल्याएको अध्यादेशलाई व्यवसाय क्षेत्रलाई उत्साहित बनाएको बताएका हुन् । सरकारले अहिले ल्याएको अध्यादेशले विदेशमा निर्यात र आयातको बाटोलाई सहजीकरण गरिदिएकोले पनि यो स्वागतयोग्य रहेको अग्रवालको भनाई छ ।

मेलाले विभिन्न स्वदेशी तथा विदेशी उत्पादनको बजारीकरणमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने उनले बताए । स्थानीय उत्पादनहरूको प्रर्वद्धन र बजारीकरणमा टेवा पुर्‍याउने उद्देश्यले चेम्बर अफ कमर्सले आयोजना गरेको उक्त एक्स्पो आजदेखि पौष २१ गतेसम्म सञ्चालन हुनेछ ।

५ दिनसम्म चल्ने एक्स्पोमा नेपाल, भारत, चीन, बङ्गलादेश, थाइल्याण्ड, मलेसियालगायतका देशमा उत्पादित सामग्रीहरु प्रदर्शनमा राखिएको छ ।

जसमा कृषिजन्य वस्तु, हस्तकला, लत्ता कपडा, अटोमोबाइल, इलेक्ट्रोनिक्स, घरेलु उपकरण, फर्निचर, गहना, सौन्दर्य र अन्य सामग्रीहरू रहेका छन् ।